
नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले राजनीतिक दलहरूले शासन सत्ता प्रभावकारी रूपमा सञ्चालन गर्न नसक्दा मुलुक अहिले गम्भीर संकटमा पुगेको बताएका छन्।
कांग्रेसको विशेष महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले देश र प्रजातन्त्र दुवै जोखिममा रहेको उल्लेख गरे। जेन–जी आन्दोलनपछि मुलुक थप संकटमा परेको चर्चा गर्दै उनले देश र लोकतन्त्र जोगाउन सबै पक्ष जिम्मेवार हुनुपर्ने बताए।
उनले अहिलेसम्म विभिन्न आन्दोलनहरू भए पनि तिनको उपलब्धि शासन सञ्चालनमा देखिन नसकेको बताए। उनले भने, ‘हामीले समाजमा आशा जगाउन सकेनौँ। आन्दोलन गर्न सक्यौँ, शासन सत्ता सञ्चालन गर्न सकेनौँ।’
विशेष महाधिवेशनले कांग्रेस र देशलाई अगाडि लैजान सक्ने सक्षम नेतृत्व चयन गर्नुपर्नेमा उनले जोड दिए। अब समाजमा आशा जगाउने समय आएको उल्लेख गर्दै त्यसका लागि उपयुक्त नीति र नेतृत्व आवश्यक रहेको उनको भनाइ थियो।