
नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनमा प्रतिनिधिले नाम दर्ता गर्ने क्रम आज बिहानैदेखि सुरु भएको छ ।
आइतबारदेखि सुरु भएको उक्त महाधिवेशनमा आइतबार मात्र दुई हजार ६६२ प्रतिनिधिले नाम दर्ता गराउनुभएको थियो ।
आइतबार कोशी प्रदेशबाट ४२५, मधेस प्रदेशबाट ४४६, बागमती प्रदेशबाट ४३२, गण्डकी प्रदेशबाट २९६, लुम्बिनी प्रदेशबाट ३९८, कर्णाली प्रदेशबाट १३४, सदूरपश्चिम प्रदेशबाट १४८, उपत्यका (काठमाडौँ, भक्तपुर र ललितपुर)बाट १७८ र भ्रातृ, शुभेच्छुक एवम् जनसम्पर्क समितिबाट १९५ जनाले नाम दर्ता गराएका थिए ।
कांग्रेस विशेष महाधिवेशन पक्षधर समूहले नाम दर्ता गराउनका लागि भिन्दाभिन्दै आठ स्टलको व्यवस्था गरेको थियो । विशेष महाधिवेशन जिल्ला क्षेत्र, ‘फोकल पर्सन’ समन्वय समितिका संयोजक युवराज पाण्डेयले आज बिहान ८ः३० बजेदेखि नै नाम दर्ता सुरु गरिएको जानकारी दिए। उनले हिजो दर्ता गर्न छुटेका प्रतिनिधिको सहजताका लागि आज नाम दर्तालाई निरन्तरता दिएको बताए ।
उक्त नाम दर्ता बिहान ११ बजेसम्म सञ्चालन हुने संयोजक पाण्डेयले बताउनुभयो । कांग्रेस विशेष महाधिवेशन पक्षधर समूहको आज बन्दसत्र हुनेछ ।
बिहान ८ बजेदेखि बन्दसत्र गर्ने कार्यक्रम रहे पनि प्राविधिक कारण बन्दसत्र कार्यक्रम केही समयलाई लम्बिएको आयोजकले जनाएको छ ।