काठमाडौं, पुस ३० :

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा उम्मेदवारी दर्ताको क्रम सकिएको छ । दिउँसो १ बजे नामावली सार्वजनिक गरिनेछ ।

आकांक्षीहरूलाई मनोनयन दर्ताको क्रममा उम्मेदवारी फिर्ता लिन तयार छु भन्ने मन्जुरीनामा फाराममा पनि हस्ताक्षर गराएर उम्मेद्वारी दर्ता गराईएको छ ।

चुनाव गराउने स्थिति नबनोस् भनेर सर्वसहमतिका लागि यो उपाय अपनाइएको निर्वाचन समितिले जनाएको छ ।

सर्वसहमतिबाट नेतृत्व चयन गर्ने प्रक्रियामा बाधा नहोस् र एउटै पदमा बढी उम्मेदवारी परेर मतदान गराउनुपर्ने स्थितिमा हलले सहमतिको म्याण्डेट दिए कार्यान्वयन गराउन बाधा हुने भएकाले फिर्ता लिन सहमत भएको कागजमा हस्ताक्षर गराएको समितिको भनाई छ ।

नेपाली कांग्रेसको विशेष महाधिवेशन चलिरहेका बेला सभापति र महामन्त्रीहरुबीच आज बिहान भएको वार्ता सकारात्मक भएको नेताहरुले बताएका छन् ।