काठमाडौं, पुस ३० :

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कागेश्वरी मनोहरा नगरपालिकासँगको सहकार्यमा सानो थली तरकारी बजारबाट संकलन गरिएका तरकारी तथा फलफूलमा विषादीको मात्रा परीक्षण गरेको छ। परीक्षणको नतिजाअनुसार सबै नमुनामा विषादीको मात्रा सरकारले तोकेको मापदण्डभित्र अर्थात् अनुकूल स्तरमै रहेको पाइएको छ।

विभागका अनुसार सबै नमुनामा कार्बामेट वर्गका विषादी तथा ६ वटा नमुनामा अर्गानोफस्फेट वर्गका विषादीको अवशेष परीक्षण गरिएको थियो। कुनै पनि नमुनामा स्वास्थ्यका लागि जोखिमपूर्ण स्तरको विषादी फेला नपरेको विभागले जनाएको छ।

गत बिहीबार कागेश्वरी मनोहरा नगरपालिका–०५ स्थित सानो थली तरकारी बजारबाट विभिन्न तरकारी तथा फलफूलका २६ वटा नमुना संकलन गरी मोबाइल खाद्य प्रयोगशाला भ्यानमार्फत जीवनाशक विषादीको परीक्षण गरिएको हो।

परीक्षण गरिएका नमुनामा काउली, क्याप्सिकम, करेला, सिमी, धनिया, च्याउ, खुर्सानी, गाजर, सखरखण्ड, तरुल, भेन्टा, मुला, अकबरे खुर्सानी, फर्सी, मटरकोसा, काक्रो, टमाटर, भिन्डी, आलु, प्याज, अदुवा, कालो अंगुर, सेतो अंगुर तथा स्ट्रबेरीलगायतका तरकारी तथा फलफूल समावेश छन्। ती सामग्रीहरू कालिमाटी, गागल, बल्खु, जोरपाटी तरकारी बजार तथा साँखु क्षेत्रबाट आपूर्ति भएका हुन्।

 विभागकी प्रवक्ता डा. बाल कुमारी शर्माले उपभोक्तालाई तरकारी तथा फलफूल राम्रोसँग धोएर मात्र प्रयोग गर्न तथा किसान र व्यापारीलाई विषादीको सुरक्षित र जिम्मेवार प्रयोग गर्न आग्रह गरिन् । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले नियमित अनुगमन र परीक्षणमार्फत खाद्य सुरक्षालाई प्राथमिकतामा राख्दै यस्ता गतिविधिलाई निरन्तरता दिने जनाएको छ।