
कागेश्वरी मनोहरा नगरपालिकाले युवायुवतीको सीप विकास र रोजगारी प्रवर्द्धन गर्ने उद्देश्यले तीन महिने आईटी (प्राविधिक) तालिम सुरु गरेको छ। थलीस्थित नगरपालिकाको भवनमा आजदेखि तालिम औपचारिक रूपमा सुरु भएको हो।
तालिममा नगरभित्रका ४५ जना युवायुवतीको सहभागिता रहेको छ। बढ्दो बेरोजगारी समस्यालाई न्यूनीकरण गर्दै प्रविधिमैत्री जनशक्ति उत्पादन गर्ने लक्ष्यसहित नगरपालिकाले यो कार्यक्रम अघि बढाएको जनाएको छ।
यसअघि पनि नगरपालिकाले युवाहरूलाई लक्षित गर्दै १० दिने आईटी तालिम सञ्चालन गरेको थियो। उक्त तालिममा उत्कृष्ट प्रदर्शन गरेका केही प्रशिक्षार्थीहरूले नगरपालिकामै रोजगारीको अवसरसमेत पाएका थिए, जसले तालिम कार्यक्रम प्रभावकारी रहेको पुष्टि गरेको छ।
नगरपालिकाले पछिल्लो समय स्वास्थ्य र प्रविधि क्षेत्रलाई प्राथमिकतामा राख्दै विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। सूचना प्रविधिमा दक्ष जनशक्ति उत्पादन र डिजिटल सेवा विस्तारमार्फत नगरपालिकाले सेवा प्रवाहलाई प्रभावकारी बनाउँदै स्वास्थ्य र प्रविधिको क्षेत्रमा उल्लेखनीय प्रगति गरेको जनाएको छ।
नगरपालिकाका अनुसार आगामी दिनमा पनि युवामैत्री तथा प्रविधिमैत्री कार्यक्रमलाई निरन्तरता दिइनेछ।