
नेपाली कांग्रेसको गगन थापा समूह बिहीबार आधिकारिकता खोज्दै निर्वाचन आयोग जाने भएको छ ।
सभापतिमा निर्वाचित भएसँगै नेता कार्यकर्तालाई सम्बोधन गर्दै थापाले आयोग जाने बताएका हुन् । उनले यसअघि नै पनि आयोगमा विशेष महाधिवेशनको विषयमा आयोगमा जानकारी गराइसकेको बताए ।
थापाले निर्वाचन आयोग कुनै अवैध शक्तिको प्रभावमा नपर्ने विश्वास समेत व्यक्त गरेका छन् । उनले आफू नेतृत्वको कार्यसमिति नै कांग्रेसको वैधानिक समिति भएको जिकिर गर्दै आफूहरूले नै वैधानिकता पाउनुपर्ने दाबी समेत गरेका छन् । थापाले विशेष महाधिवेशनबाट निर्वाचित आफू नेतृत्वको केन्द्रीय कार्यसमिति नै कांग्रेसको वैधानिक समिति भएको स्पष्ट पारे ।
उनले पार्टीको वैधानिकता र आधिकारिकता निर्वाचन आयोगले संविधान, कानुन र लोकतान्त्रिक अभ्यासअनुसार नै सुनिश्चित गर्ने विश्वास व्यक्त गर्दै आफूहरूले नै वैधानिक मान्यता पाउनुपर्ने दाबी गरेका हुन् ।
सभापतिमा निर्वाचित भएपछि थापाले कांग्रेस जस्तो ऐतिहासिक पार्टीको नेतृत्व गर्न पाउनु आफ्नो लागि गर्वको विषय भएको बताएका छन् ।
उनले आफूलाई दिइएको जिम्मेवारी इमानदारी, निष्ठा र समर्पणका साथ पूरा गर्ने प्रतिबद्धता जनाए । उनले पार्टीका नेता तथा कार्यकर्ताको सम्मान, स्वाभिमान र आत्मसम्मान जोगाउनु आफ्नो पहिलो प्राथमिकता हुने स्पष्ट पारे ।
‘कांग्रेसका कुनै पनि नेता–कार्यकर्ताको शिर निहुरिन दिनेछैनौँ,’ भन्दै उनले पार्टीलाई एकताबद्ध,अनुशासित र जनताको भरोसाको बलियो शक्ति बनाउने संकल्प व्यक्त गर्दै यो कुनै दलको भुई तहका कार्यकर्ताले गरेको सबैभन्दा ठूलो हस्तक्षेप हो भने ।
कांग्रेस बाहिर रहेका नागरिकहरूलाई सम्बोधन गर्दै थापाले भने लोकतन्त्र, सुशासन र पार्टीभित्रको सुधारका लागि यो अधिवेशन अर्थपूर्ण र उपलब्धिपूर्ण छ ।
उनले पार्टी सदस्यलाई कांग्रेस भएकामा गौरव गर्ने पार्टी बनाउने दृढता व्यक्त गरे ।
“जुन विश्वासका साथ सभापतिको जिम्मेवारी सुम्पिनुभएको छ, तपाईँहरु कसैको पनि शिर निहुरिने अवस्था आउने दिने छैन । नेपाली कांग्रेस पार्टीको शान राख्छु । यो पार्टीमा लाग्ने तमाम साथीहरुले नेपाली कांग्रेस भएकामा गौरव गर्ने बनाउँछु । नागरिकलाई अप्ठयारो अवस्थामा कांग्रेस छ भन्ने काम पार्टीले गर्नेछ”, नवनिर्वाचित सभापति थापाले भने ।
उनले नेपाली कांग्रेसको विशेष महाधिवेशन कांग्रेसको इतिहासमा मात्रै नभई आधुनिक नेपालको इतिहासमा भुइँ तहका कार्यकर्ताले गरेको सबैभन्दा ठूलो हस्तक्षेप भएको उल्लेख गरे । सभापति थापाले भने, “भुइँ तहका कार्यकर्ता भनेको जनताको प्रतिनिधि हो, नागरिक हो । नागरिकले दलभित्र गरेको हस्तक्षेप हो ।”
नेपाली कांग्रेस कुनै हालतमा नफुटेको जनाउँदै उनले वैधानिक रुपमा विशेष महाधिवेशन गर्दा पार्टी फुट्यो भन्ने प्रश्नै नउठ्ने बताए ।
त्यसअघि केन्द्रीय निर्वाचन समितिका संयोजक सीताराम केसीले सभापति पदमा थापा निर्विरोध निर्वाचित हुनुभएको घोषणा गरेका थिए ।