.jpg)
स्वास्थ्य सेवा विभागले छरिएर रहेका स्वास्थ्य सूचना तथा तथ्याङ्कहरुलाई एकीकृत गर्ने पहल सुरु गरेको छ । ‘एशिएन इ–हेल्थ इन्फरमेशन नेटवर्क’को सहयोगमा नेपालमा स्वास्थ्य तथ्याङ्कको सुदृढीकरणसम्बन्धी पहल सुरु भएको हो ।
स्वास्थ्य तथ्याङ्कलाई डिजिटल गराई आम नागरिकले स्वास्थ्यसम्बन्धी सूचना सहज रुपमा उपलब्ध गराउने अवस्था सिर्जना गर्न खोजिएको यस पहलका प्रमुख विशेषत्र डा झविन्द्र भण्डारीले जानकारी दिए । सो पहलका बारेमा जानकारी गराउने उद्देश्यले आज आयोजित ‘नेपालमा स्वास्थ्य तथ्याङ्कको सुशासनका लागि मार्गचित्र’ विषयक कार्यशालामा उनले नेपालसहित भियतनाम र मङ्गोलियामा पनि यस किसिमको पहल सुरु गरिएको बताएका छन् ।
विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा विभागले चार वर्षअघि एकीकृत स्वास्थ्य प्रणालीसम्बन्धी दशवर्षे मार्गचित्र तयार गरी कार्यानवयनमा ल्याएको छ । यसमा समग्र स्वास्थ्य सूचना प्रणालीलाई एकीकृत र ‘डिजिटलाइज्ड’ गरी आम जनतालाई यसम्बन्धी सहज सूचना उपलब्ध गराउनुपर्नेमा जोड दिइएको छ । विश्वका अन्य देशमा जस्तै नेपालमा पनि कानुनी र नीतिगत तहमा स्वास्थ्य सूचनालाई आम जनताले सहज रुपमा उपयोग गर्नसक्ने क्षमताको विकास गर्न आवश्यक रहेको कार्यक्रमका सहभागीहरुले सुझाव दिएका थिए ।