काठमाडौं, माघ १ :

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले लोपोन्मुख भाषा, लिपि, कला र संस्कृतिको संरक्षणमा सबैको सहकार्य र समन्वय आवश्यक रहेको बताएका छन् ।

काठमाडौंमा आयोजित ‘हाङ यलम्बर स्मृति’ पुरस्कार वितरण समारोहमा प्रमुख शाहले कतिपय भाषाका लिपि हराइसकेका, कतिपय भाषा विलिन भइसकेका उल्लेख गर्दै यस्ता लोप हुन लागेका भाषा र लिपि खोजी गरी संरक्षणमा हातोमालो गर्न सबैलाई आह्वान गरे ।

किराँत राई यायोक्खाद्वारा किराँत यलम्बरसम्वत् ५०८६ को अवसरमा आयोजित पुरस्कार समारोहमा उनले प्रत्येक समुदायले आफ्नो कला, संस्कृति, मूल्यमान्यता र पहिचानसँग जोडिएका भाषा जोगाउँदै जानुपर्ने धारणा राखे ।

देशभर विभिन्न जातजाति, समुदाय र सभ्यता रहेको उल्लेख गर्दै प्रमुख शाहले ती सबैको संरक्षण र सम्वर्द्धन गर्नु साझा दायित्व भएको बताए । 'हाम्रो भाषा, कला र संस्कृति जोगाउनु भनेको व्यक्तिगत मात्र नभइ सिङ्गो देशको पहिचान जोगाउनु हो,' उनले भने, 'तपाईंले आफ्नो भाषा जोगाइरहनुभएको छ भने देशलाई पनि जोगाइरहनुभएको छ ।'