
नेपाली कांग्रेसको गगन थापा समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले आज सर्वोच्च अदालतमा रिट दायर गरेको छ ।
सर्वोच्च प्रशासनले रिट दर्ता गर्दै माघ ६ गतेका लागि पेसी तोकेको छ। दुईतिहाइ शक्ति पार्टीविहीन हुने जोखिम देखाउँदै देउवा पक्षले रिटको पेसी आजै तोकेर सुनुवाइ गरिदिन आग्रह गरेका थिए। सर्वोच्च प्रशासनले आजै मुद्दा दर्ता गरेर पेसी तोक्न सम्भव नभएको बताएपछि उनीहरू दर्ता गरेर फर्केका हुन्।
तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले रिट दर्ता गराएका हुन्। सर्वोच्चले अन्तरिम आदेश जारी गरेमा मात्र देउवा पक्षका लागि राहत हुने छ, नत्र उनीहरु पार्टी विहीन रुपमा स्वतन्त्र ढंगले निर्वाचनमा उम्मेदवार बन्नुपर्नेछ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि यही माघ ६ गते उम्मेदवारी दर्ता पनि हुँदैछ।