
प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारका चार मन्त्री आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा होमिएका छन् । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि मन्त्री पदबाट राजीनामा दिएर उनीहरु उम्मेदवार बनेका हुन् ।
अन्तरिम सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङ, युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र शिक्षा विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन उम्मेदवार बनेका छन् ।
यसअघि उनीहरुले वर्तमान सरकारको स्वतन्त्र पहिचानमा आँच आउन नदिन दलीय राजनीतिको मैदानमा छिर्नु अघि पदबाट राजीनामा दिने घोषणा गरेका थिए मन्त्री पदबाट राजीनामा दिएपछि घिसिङले काठमाडौं निर्वाचन क्षेत्र नं ३ बाट उम्मेदवार बनेका छन् । गुप्ता राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट सिरहा निर्वाचन क्षेत्र नं १ मा उम्मेदवारी दिएका छन्।
पूर्वसञ्चारमन्त्री खरेल रास्वपाबाट ललितपुर निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारी दिँदैछन् । यस्तै पूर्वशिक्षामन्त्री पुनले भने आजै म्याग्दी निर्वाचन क्षेत्र नं १ बाट स्वतन्त्र उम्मेदवारी दिइसकेका छन् ।प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ आज मुलुकभरका १६५ वटै निर्वाचन क्षेत्रमै उम्मेदवारको मनोनयन दर्ता हुँदैछ ।