
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्याण्ड आफ्नो नियन्त्रणमा लिने धम्कीलाई पुनः दोहोर्याएका छन्।
सामाजिक सञ्जालमा उनले यस विषयमा अब पछि फर्किने कुनै बाटो छैन भन्दै ग्रिनल्याण्ड अत्यन्तै आवश्यक छ भनेका छन्।
ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनका क्रममा ट्रम्पलाई ग्रिनल्याण्ड प्राप्त गर्न उनी कति टाढासम्म जान तयार छन् भन्ने प्रश्न सोध्दा उनले तपाईंहरूले थाहा पाउनुहुनेछ भन्ने जवाफ दिए।
यसैबीच स्विट्जरल्याण्डमा भइरहेको विश्व आर्थिक मञ्चको बैठकमा फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले नियमविहीन विश्वतर्फको मोडको चेतावनी दिए भने क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले पुरानो विश्व व्यवस्था अब फर्केर नआउने बताएका छन्।
ट्रम्प बुधबार डाभोस पुग्ने कार्यक्रम रहेको छ। उनले त्यहाँ ग्रिनल्याण्डबारे धेरै बैठकहरू तय भएका छन् भन्ने पनि बताएका छन्।
लामो पत्रकार सम्मेलनका क्रममा ट्रम्पले ग्रिनल्याण्डमा सबै कुरा राम्रैसँग मिल्नेछ भन्ने दाबी समेत गरे।
संचारकर्मीले ग्रिनल्याण्डका लागि नाटो गठबन्धन टुट्नु स्वीकार्य मूल्य हो कि होइन भन्ने प्रश्न सोध्दा ट्रम्पले भने,“नेटोका लागि मैले जति काम कसैले गरेको छैन। उनले थपे नेटो पनि खुसी हुनेछ र हामी पनि खुसी हुनेछौँ। हामीलाई यो विश्व सुरक्षाका लागि आवश्यक छ।
तर यसअघि ट्रम्पले आवश्यकता पर्दा नेटोले अमेरिकाको पक्षमा साथ दिने कि नदिने भन्नेमा शंका व्यक्त गरेका थिए।
“मलाई थाहा छ हामी नेटोलाई सहयोग गर्न जानेछौँ, तर उनीहरू हामीलाई सहयोग गर्न आउनेछन् कि आउँदैनन् भन्नेमा म साँच्चिकै शंकामा छु,” उनले पत्रकारहरूलाई भने।
नेटो हाल ३२ सदस्य राष्ट्रहरूको गठबन्धन हो जसको संस्थापक १२ देशमध्ये अमेरिका पनि एक हो।
सामूहिक सुरक्षाका माध्यमबाट स्वतन्त्रता र सुरक्षाको रक्षा गर्न बनाइएको नेटोको मुख्य सिद्धान्त अनुच्छेद ५ मा उल्लेख गरिएको छ, जसअनुसार कुनै एक वा बढी सदस्य राष्ट्रमाथि भएको सशस्त्र आक्रमणलाई सबै सदस्य राष्ट्रमाथिको आक्रमण मानिनेछ।
ग्रिनल्याण्ड नियन्त्रणमा लिन सैन्य शक्ति प्रयोग गर्ने सम्भावनालाई ट्रम्पले पूर्ण रूपमा अस्वीकार गरेका छैनन्। एक प्रश्नमा के उनी सैन्य बल प्रयोग गरेर ग्रिनल्याण्ड कब्जा गर्न सक्छन् ट्रम्पले यसमा कुनै टिप्पणी छैन भन्ने जवाफ दिएका थिए।