
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले अपराधीलाई जोगाउने काम गरिरहेको आरोप लगाएका छन्।
बुधबार गृह जिल्ला झापामा ‘जेनजी आन्दोलन’का क्रममा भएका आगजनी र तोडफोडबाट क्षतिग्रस्त संरचनाहरूको अवलोकन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन्।
सार्वजनिक सम्पत्ति जलाउनेलाई कानुनको दायरामा ल्याएर कारबाही गर्नुपर्नेमा जोड दिँदै ओलीले अन्तरिम सरकार नै देश जलाउनेहरुकै भएकाले अपराधीमाथि कारबाही नभएको दाबी गरे। ‘अहिलेको सरकार सायद उनीहरूकै सरकार भएकाले दोषीलाई संरक्षण गरेको देखिन्छ,’ उनले भने।
अपराधलाई कुनै पनि हालतमा प्रोत्साहन गर्न नहुने उल्लेख गर्दै अध्यक्ष ओलीले अपराध नियन्त्रण गरेर शान्तिपूर्ण र बस्नलायक देश निर्माण गर्नुपर्नेमा जोड दिए। उनले भने, ‘अपराधलाई प्रोत्साहन गर्न सकिँदैन।दोषीलाई कारबाहीको दायरामा ल्याउनैपर्छ। अरूको घर जलाएर उम्किन पाइँदैन।’
अध्यक्ष ओलीले वर्तमान सरकारले अपराधीलाई जोगाउने काम गरिरहेको आरोप पनि लगाए। “अहिलेको सरकार सायद उनीहरूकै सरकार भएकाले दोषीलाई संरक्षण गरेको देखिन्छ,” उनले भने। अध्यक्ष ओली आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दर्ता गराएका छन् ।