
वागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सडक निर्माणमा आयातित अलकत्राको प्रयोग घटाई स्वदेशमै उत्पादन हुने सिमेन्टको प्रयोग बढाउनुपर्नेमा जोड दिएका छन्।
मुख्यमन्त्री बानियाँले अलकत्राको विस्थापन गर्नु सिमेन्ट उद्योगको प्रवर्द्धन मात्र नभई मुलुकको व्यापार घाटा न्यूनीकरणतर्फको महत्वपूर्ण कदम हुने उल्लेख गरे। दिगो विकास र आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि स्वदेशी कच्चा पदार्थको प्रयोग अपरिहार्य रहेको उनको भनाइ थियो।
नेपाल सिमेन्ट उत्पादक संघको आयोजनामा तथा आइपिटिएम नेपाल प्रा.लि. को सहजीकरणमा मंगलबार हेटौंडामा आयोजित सडक निर्माणसम्बन्धी एकदिने तालिम कार्यक्रम उद्घाटन गर्दै मुख्यमन्त्री बानियाँले सिमेन्टको अधिकतम खपत र दीर्घकालीन सडक पूर्वाधार विकासका लागि कालोपत्रे सडकको सट्टा कङ्क्रिट सडकतर्फ जानुपर्नेमा जोड दिए।
कार्यक्रममा इन्जिनियर अर्जुनजंग थापाले ‘कठोर पक्कीकरणको परिचय तथा नेपालमा यसको सान्दर्भिकता’ विषयमा प्रस्तुतीकरण दिँदै नेपालको भौगोलिक बनावट, मौसमीय अवस्था, कमजोर सबग्रेड, बढ्दो सवारी चाप र भारी ढुवानीका कारण सडकको दिगोपनामा देखिएका चुनौतीहरू प्रस्तुत गरे। उनले कङ्क्रिट सडक दीर्घकालीन रूपमा भरपर्दो र प्रभावकारी विकल्प भएको स्पष्ट पारे।
थापाका अनुसार कालोपत्रे सडकको तुलनामा कङ्क्रिट सडकको प्रारम्भिक लागत केही बढी भए पनि कम मर्मतसम्भार खर्च, उच्च टिकाउपन र विश्वसनीयताका कारण दीर्घकालीन रूपमा समग्र लागत सस्तो पर्छ।
हाल नेपालमा ९० प्रतिशतभन्दा बढी मालसामान तथा यात्रु ढुवानी सडक यातायातमार्फत हुँदै आएको अवस्थामा दिगो सडक पूर्वाधार विकास अपरिहार्य रहेको कार्यक्रममा सहभागीहरूले बताएका छन्।
तालिममा कङ्क्रिट सडकको अवधारणा, प्रकार, छनोटका आधार, डिजाइन सिद्धान्त, संरचनात्मक तत्व, जोइन्ट तथा रिइनफोर्समेन्टको भूमिका तथा निर्माण प्रक्रियाबारे व्यवहारिक ज्ञान प्रदान गरिएको थियो।
नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष रघुनन्द मारुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा हेटौंडा उपमहानगरपालिका–२ का वडा अध्यक्ष विष्णु गोपाल महर्जन, पूर्वाधार विकास योजना कार्यालय मकवानपुरका सुपरिटेन्डेन्ट इन्जिनियर दीपक कुमार दास, नेपाल सिमेन्ट उत्पादक संघका पूर्व अध्यक्ष ध्रुब थापालगायत विभिन्न निकायका प्रतिनिधि तथा प्रदेशका प्राविधिकहरूको उपस्थिति रहेको थियो।