काठमाडौं, माघ ९ :

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ ।

बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय बिपी स्मृति भवन सानेपा ललितपुरमा बस्न लागेको हो ।  पार्टी केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माले बिहीबार एक विज्ञप्ति जारी गरी बैठक बस्ने जानकारी दिएका हुन् । 
कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठकमा भाग लिनका लागि पार्टीका पदाधिकारी, सदस्य एवं प्रदेश सभापतिलाई अनुरोध गरिएको छ ।

नेपाली कांग्रेसको गत पुस २७ देखि ३० गतेसम्म भएको विशेष महाधिवेशनबाट सर्वसम्मत सभापतिमा चुनिएका गगन थापा नेतृत्वको कार्यसमिति आज पहिलो पटक पार्टी कार्यालय सानेपामा जान लागेको हो ।

विशेष महाधिवेशनबाट थापा सभापति, विश्वप्रकाश शर्मा र पुष्पा भुसाल उपसभापति, गुरुराज घिमिरे र प्रदीप पौडेल महामन्त्री, डा। डिला सङ्ग्रौला पन्त, फरमुल्लाह मन्सुर, योगेन्द्र चौधरी, उदय शमशेर राणा, कर्णबहादुर बुढा, बहादुर सिंह लामा र मुक्ता यादव सहमहामन्त्री चुनिएका थिए । विशेष महाधिवेशनले १३५ सदस्यीय केन्द्रीय कार्यसमिति सर्वसम्मत चुनेको थियो ।

२०७८ सालमा भएको १४औँ महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित भएका थापा र शर्माको अगुवाइमा भएको विशेष महाधिवेशनलाई शेरबहादुर देउवा नेतृत्वको समूह र डा शेखर कोइराला नेतृत्वको समूहले अस्वीकार गरेको थियो ।

विशेष महाधिवेशनलाई अस्वीकार गर्दै दुवै समूह निर्वाचन आयोग र सर्वोच्च अदालतसम्म पुगेका थिए । निर्वाचन आयोगले थापा नेतृत्वको समितिलाई आधिकारिकता दिइसकेको छ ।

सर्वोच्च अदालतले पनि देउवा र डा कोइराला समूहले दायर गरेको रिटमा अन्तरिम आदेश नदिएपछि विशेष महाधिवेशनबाट चयन भएको कार्यसमिति आज पद बहालीका लागि केन्द्रीय कार्यालयमा जान लागेको हो ।