
सिन्धुली २ बाट स्वतन्त्र उम्मेदवारी दिएका नेपाली कम्युनिस्ट पार्टीका नेता महेश्वर दाहालले आफू निर्वाचन क्षेत्रमा होमिएको बताएका छन् ।
उनले आज एक अपिल प्रकाशन गर्दै आफ्नो कदम कुनै बार्गेनिङका निम्ति नभएको समेत बताएका छन् । दाहाल सिन्धुली–२ मा बागी उम्मेदवारका रुपमा प्रस्तुत भएका स्वतन्त्र उम्मेदवार बनेका हुन्।
सिन्धुलीको कम्युनिष्ट इतिहासको एउटा साक्षी बागी भएर उठ्नु पर्दा गद्दार भनिएला तर कम्युनिष्ट आदर्श छाड्न सक्दिनँ उनले भनेका छन् ।
उनले भनेका छन्, "सिन्धुली प्रजातान्त्रिक आन्दोलनको प्रारम्भमा नै बर्माबाट मार्क्सवादमा दीक्षित भएर आएका योद्धा एसबी राईले बासुदेव श्रेष्ठ लगायतका पुराना पिढीसँग मिलेर कम्युनिस्ट आन्दोलन शुरू गरेको ठाउँ हो यो । जुन बेला कम्युनिस्ट आन्दोलन दक्षिणपन्थी दिशामा खुम्चिरहेको थियो त्यो बेलामा यहाँ दावानल शुरु गर्न ३० को दशकमा ऋषि देवकोटा आजाद, दुर्गा सुवेदी, दलबहादुर रजन मगर, सीपी गजुरेल, हरिबोल गजुरेल, ईश्वरी दाहाल, रामप्रसाद राई लगायत थुप्रै अग्रजहरूले कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउने प्रयास गर्नुभयो । त्यसपछि ४० को दशकमा राम कार्की लगायतले पनि यो माटोमा वामपन्थी आन्दोलनलाई मलजल गर्ने महत्वपूर्ण भूमिका खेल्नुभएको छ ।’