
कांग्रेस सहमहामन्त्री उदयशम्शेर राणाले राजनीतिक दलहरूबाट आगामी निर्वाचनपछि विभिन्न दलहरुबाट प्रधानमन्त्रीका उम्मेदवार घोषणा गरिएकाहरूलाई एउटै मञ्चमा राखेर देशका महत्त्वपूर्ण विषयहरू र नीतिमा छलफल गर्नुपर्ने प्रस्ताव राखेका छन् ।
प्रधानमन्त्रीका उम्मेदवार घोषणा गरिएकाहरूका भावी एजेन्डा के हुन्, प्रधानमन्त्री बनेपछि कुन क्षेत्रमा कस्तो नीति लिने योजना छ लगायतका बिषयमा जनतासमक्ष प्रष्टसंग राख्न उनले प्रस्ताव गरेका छन् ।
भावी प्रधानमन्त्रीका योजना,उनले लिने निति हरेक नागरिकले जान्न पाउनुपर्ने र त्यसका लागि एउटै मञ्चमा उनीहरूलाई बहसमा उभ्याउनुपर्ने राणाको भनाइ छ ।
बहसहरूले आमनागरिकलाई प्रधानमन्त्रीका उम्मेदवारहरूलाई नजिकबाट बुझ्ने अवसर प्राप्त गर्ने नेता राणाको भनाइ छ । त्यसले निर्वाचनमा मताधिकार प्रयोग गर्दा विवेकपूर्ण निर्णय गर्न मतदातालाई सजिलो हुने समेत उनको भनाइ छ ।
यसपटकको निर्वाचनमा सबैजसो प्रमुख राजनीतिक दलहरूले निर्वाचनअघि नै भावी प्रधानमन्त्रीका उम्मेदवार घोषणा गरेका छन् ।
यसपटक कांग्रेसले सभापति गगन थापा,एमालेले अध्यक्ष केपी शर्मा ओली र रास्वपाले वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्री उम्मेदवार घोषणा गरेर आगामी २१ गते हुन गईरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा होमिएका छन् ।