
निर्वाचन आयोगले आचारसंहिता विपरीत कार्य गरेको भन्दै कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीदेखि विभिन्न उम्मेदवारहरूलाई स्पष्टीकरण सोधेको छ। आयोगले सरकारी स्रोतको दुरुपयोग र अन्य निषेधित गतिविधिमा संलग्न भएको भन्दै जवाफ मागेको हो।
आयोगको पूर्वसहमति बिना नै सरकारी साधन-स्रोत प्रयोग गरी उम्मेदवार मनोनयनका क्रममा झापा पुगेको विषयलाई लिएर मुख्यमन्त्री कार्कीलाई सरकारी स्रोत दुरुपयोगको आरोपमा स्पष्टीकरण सोधिएको हो। सार्वजनिक पदमा बहाल व्यक्तिले निर्वाचन प्रचारप्रसार वा मनोनयनमा सरकारी संयन्त्र प्रयोग गर्न नपाउने आचारसंहिताको प्रावधान छ।
यसैगरी विभिन्न जिल्लाका उम्मेदवारहरूमाथि परेको उजुरीका आधारमाथि छानबिन गर्दै आयोगले कारबाही प्रक्रिया अघि बढाएको छ ।निर्वाचनका क्रममा नगद वितरण गरेको भिडियो सार्वजनिक भएपछि आयोगले शक्तिबहादुर बस्नेत (जाजरकोट) सँग जवाफ मागेको छ।
यस्तै प्रचारका क्रममा लैङ्गिक संवेदनशीलतामा आँच आउने खालको व्यवहार र अभिव्यक्ति दिएको आरोपमा सुरेन्द्र भण्डारी (काठमाडौँ) लाई स्पष्टीकरण सोधिएको छ।
यसैगरी बालबालिकालाई राजनीतिक गतिविधि र प्रचारप्रसारमा प्रयोग गरेको उजुरी परेपछि आयोगले हर्क साङ्पाङ (उम्मेदवार) लाई सचेत गराउँदै जवाफ मागेको छ। यस्तै आचारसंहिता विपरीतका अन्य गतिविधि गरेको भन्दै जगदीश खरेल दोलखासँग पनि स्पष्टीकरण मागिएको छ।
उजुरी परेकामध्ये दोलखाका उम्मेदवार जगदीश खरेलले आफ्नो जवाफ पठाइसकेको र अन्य उम्मेदवार र पदाधिकारीहरूबाट जवाफ आउने क्रम जारी रहेको आयोगले जनाएको छ। आयोगले आचारसंहिताको पूर्ण पालना गर्न र उल्लंघन गरेमा निर्वाचन ऐनअनुसार कडा कारबाही गर्ने चेतावनीसमेत दिएको छ।