
सहिद धर्मभक्त माथेमाले सहादत प्राप्त गरेको स्थान काठमाडौँको सिफल उकालोमा आज स्मृति सभा सम्पन्न भएको छ । सहिद सप्ताह आयोजक समितिको आयोजनामा प्रजातन्त्र प्राप्तिका लागि धर्मभक्त माथेमाले अमरत्व प्राप्त गरेको दिन र स्थानमा स्मृति सभा गरिएको हो ।
सहिदको सालिकमा पुष्पगुच्छा अर्पण गर्दै सहिद सप्ताह मूल समारोह समितिका संयोजक एवं काठमाडौँ महानगरपालिका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले विगतको शासनमा नागरिकले भोग्नु परेका क्रूरता, असमानता तथा कुण्ठित अवस्था नवपुस्ताले अनुभूति गर्नु नपरोस् भन्नका लागि सहिदको सङ्घर्ष र बलिदानी स्मरण गर्न कार्यक्रम आयोजना गरिएको बताइन् ।
माथेमाले प्रजातन्त्र प्राप्तिका लागि खेल्नुभएको भूमिका र सामाजिक रुपान्तरणमा पु¥याउनु भएको योगदानको चर्चा गर्दै डङ्गोलले भनिन्, ‘माथेमामा राजनीतिक चेतना थियो, उहाँ शारीरिक सुगठन (व्यायाम) का प्रवद्र्धक हुनुहुन्थ्यो । राजालाई व्यायाम सिकाउने शिक्षक भएर पनि निरङ्कुस शासनविरुद्ध सङ्घर्ष गर्ने उहाँको आँट युवाहरुले सिक्नुपर्ने पाठ हो । स्मरण गर्नुपर्ने इतिहास हो । शासकसँगको सम्बन्धका कारण व्यक्तिगत रुपमा उहाँलाई सुख सुविधा सबै प्राप्त हुन सक्थ्यो । त्यो सुख सयल त्यागेर नागरिक स्वतन्त्रताका लागि ज्यान दिन तयार हुनुभयो । उहाँको बलिदानीका कारण आज हामी मनमा लागेका कुरा यहाँ उभिएर बोलिरहेका छौँ ।’