
कर्णाली प्रदेशका मुगु, हुम्ला र डोल्पा जिल्लामा मंगलबार रातिदेखि उच्च हिमपात भइरहेको छ। हिमपातका कारण यातायात, हवाई सेवा, बिजुली आपूर्ति बन्द हुनुका साथै जनजीवन प्रभावित भएको छ।
लामो समयपछि परेको हिउँले किसानहरू उत्साहित भएका छन् भने चिसो बढेसँगै जनजीवन कष्टकर बनेको छ। हिमपातका कारण हिमाली जिल्लामा चिसोले जनजीवन प्रभावित हुनुका साथै जुम्ला सडक खण्ड बन्द भएको छ ।
यस्तै मुगुमा सदरमुकाम बाहेक सबै स्थानीय तहमा हिउँ परेको छ । यस्तै रुकुम पूर्वका उच्च पहाडी तथा हिमाली भेग प्रभावित भएका छन् भने मध्यपहाडी लोकमार्गको आवतजावत पनि अवरुद्ध भएको छ ।
लोकमार्गको रुकुम पूर्व र बागलुङको सिमाना पाथीहाल्ने आसपासमा रातिदेखि परेको बाक्लो हिमपातका कारण सवारी आवागमन अवरुद्ध भएको हो ।जिल्ला प्रहरी प्रमुख डीएसपी उमाशंकरप्रसाद यादवका अनुसार रातिदेखि नै जिल्लाको लेकाली भेगमा मौसम प्रतिकूल भएको छ र हिमपात भइरहेको छ ।
यस्तै मुस्ताङको वारागुङ मुक्तिक्षेत्र-४ कागबेनी बजारमा पनि हिउँ परेको छ । बाक्लो हिमपातका कारण त्यहाँको जनजीवन प्रभावित भएको छ । त्यहाँ सडकमा जमेको हिउँ सशस्त्र प्रहरी बलको टोलीले पन्छाउँदै सडक खुलाउन प्रयास गरेको छ ।