काठमाडौं, माघ १४ :

प्रतिनिधिसभा पुनःस्थापनाका लागि रिट पेस गर्ने नेपाली कांग्रेसका निर्वतमान सांसदहरुको टोली सर्वोच्च अदालतमा ‘डेलिगेसन’का लागि जाने भएका छन् ।

भोलि माघ १५ गते बिहान १०: ३० बजे सर्वोच्च अदालतमा सांसदहरु डेलिगेसनमा जाने कार्यक्रम रहेको कांग्रेसका निवर्तमान प्रमुख सचेतक श्यामकुमार घिमिरेले जानकारी दिए । सर्वोच्च अदालतले संसद् पुनःस्थापनाको माग गर्दै दायर भएको पुरक रिटलाई पनि एकैसाथ राखेर सुनुवाइ गर्ने भनिए पनि अहिलेसम्म अन्तिम सुनुवाइ भएको छैन।

प्रधान न्यायाधीश प्रकाशमानसिंह राउत, सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीहरू हरिप्रसाद फुँयाल, मनोजकुमार शर्मा र नहकुल सुवेदीको संवैधानिक इजलासले केही साताअघि नेपाली कांग्रेसका ५७ जना पूर्वसांसदले  दायर गरेको पुरक रिट निवेदनलाई एकैसाथ राखेर सुनुवाइ गर्ने आदेश गरेको थियो। प्रतिनिधिसभाको निर्वाचनको मिति नजिकिँदै गर्दा कांग्रेसका निवर्तमान सांसदहरु पुन:स्थापनामा जोडदिन थालेका छन् । प्रतिनिधिसभाको निर्वाचन फागुन २१ गते हुँदैछ ।