बुटवल, माघ १५ :

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध दर्ता भएको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा जिल्ला अदालत रुपन्देहीमा तत्काल फिर्ता नहुने भएको छ।  मुद्दा फिर्ताबारे सर्वोच्चमा रिट परेको हुँदा टुंगो लागेपछि मात्रै निर्णय गर्न आदेश भएको छ।

जिल्ला अदालतका न्यायाधीश श्यामलाल घिमिरेको इजलासले सर्वोच्चमा विचाराधीन रिटको टुंगो लागेपछि मात्रै जिल्ला अदालतमा निवेदन पेश गर्न आदेश दिएको रूपन्देहीका तहसिलदार कृष्णप्रसाद पौडेलले जानकारी दिए। 

महान्यायाधिवक्ताको कार्यालयको निर्णय अुनसार जिल्ला सरकारी वकीलको कार्यालयले जिल्ला अदालत रुपन्देहीमा मुद्दा फिर्ता लिन निवेदन दिएको थियो।
महान्यायाधिवक्ताको कार्यालयले केही दिनअघि लामिछानेविरुद्धको संगिठत अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता लिने निर्णय गरेको थियो।

महान्यायाधिवक्ता सविता भण्डारीले गत पुस ३० गते लामिछानेसहित प्रतिवादीका संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता लिने निर्णय गरेकी थिइन्। त्यसको चौतर्फी आलोचना भएपछि सर्वोच्चमा  रिट परेको थियो। सर्वोच्च अदालतका न्यायाधीशद्वय मनोजकुमार शर्मा र श्रीकान्त पौडेलको संयुक्त इजलासले फेला परेका थप प्रमाण झिकाउन आदेश दिएको थियो।