काठमाडौं, माघ १६ :

पाकिस्तानका जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानले पाँच हप्ताभन्दा बढी समयदेखि कुनै पनि आगन्तुक भेट्न नपाएको उनको पार्टी पिटिआईले जनाएको छ।

उनको भनाइ बाहिरी संसारसम्म नपुगोस् भन्ने उद्देश्यले यो अवस्था सिर्जना गरिएको उनको परिवारले जनाएको छ । उनीहरूले यसका लागि देशका सेनाप्रमुख फिल्ड मार्शल आसिम मुनीरलाई जिम्मेवार ठहराएका छन्। तर सरकारले भने यो आरोप अस्वीकार गर्दै जेलभित्र राजनीति विषयमा छलफल गर्न नपाइने नियम उल्लङ्घन गरेकाले भेटघाट रोकिएको दाबी गरेको छ।

यद्यपि इमरान खानलाई मौन गराउन खोजिएको देखिए पनि दबाबमा पर्ने व्यक्ति उनी मात्रै होइनन्।

पत्रकार,विश्लेषक तथा मानवअधिकारकर्मीहरूका अनुसार राज्यसँग असहमति जनाउनेहरुका लागि यस प्रकारको जोखिम बढ्दै गएका छन्।

गत सप्ताहन्तमा मानवअधिकार वकिल इमान मजारी र उनका पति राज्यविरोधी सामग्री सामाजिक सञ्जालमा सेयर गरेको आरोपमा दोषी ठहर भएका छन्। उनीहरूलाई १० वर्षको जेल सजाय सुनाइएको छ।

सजाय सुनाइनुअघि एम्नेस्टी इन्टरनेशनलले पाकिस्तानलाई असहमति दबाउन र मानवअधिकारको रक्षा गर्नेहरूलाई डराउन प्रयोग गरिने जबर्जस्ती रणनीति अन्त्य गर्न आह्वान गरेको थियो।

इमरान खानको परिवार भने उनलाई जनमानसबाट मेटाउने प्रयास भइरहेको कुरामा स्पष्ट छ।

खानकी बहिनी अलीमा खानुमले  भनिन् “टेलिभिजनमा दुईवटा नाम लिन पाइँदैन,” “इमरान खानको राम्रो कुरा गर्न पाइँदैन, र आसिम मुनीरको नराम्रो कुरा गर्न पनि पाइँदैन।”

रावलपिण्डीको आदियाला जेलमा रहेको खानको कोठाबाट केही किलोमिटर टाढा समर्थकहरूले गरेको हालैको प्रदर्शनमा उनले यो कुरा भनेकी हुन् ।

पार्टीका अनुसार खानले आठ हप्ताभन्दा बढी समयदेखि परिवारका सदस्य भेटेका छैनन् र पाँच हप्ताभन्दा बढी समयदेखि वकिलसमेत भेट्न पाएका छैनन्। त्यो पनि अन्तिम भेट केवल आठ मिनेटको मात्र भएको थियो।

“अहिले हामीसँग दबाब सिर्जना गर्ने यही एउटा उपाय छ, जसबाट हामीलाई उनलाई भेट्न अनुमति दिइयोस्,” खानुमले प्रदर्शनका क्रममा भनिन्।“वकिल भेट्नु उनको अधिकार हो, परिवार भेट्नु उनको अधिकार हो, बाहिरी संसारसँग सम्पर्क राख्नु पनि उनको अधिकार हो।” उनको भनाई छ ।

जेलभित्रका भेटघाटपछि खानका भनाइहरू प्रायः उनको एक्समापोस्ट हुने गर्थे जहाँबाट उनले सरकार र सेनाप्रमुखको कडा आलोचना गर्दै पार्टी र समर्थकहरूलाई निर्देशन दिने गर्थे।

“उनीहरूले उनको आवाज रोक्न सकेका छैनन्, किनकि मानिसहरू उनलाई सुन्न चाहन्छन्, उनका सन्देश पढ्छन् र उनलाई छोड्दैनन्,” खानुम भन्छिन्। तर अहिले भेटघाट रोकिएसँगै ती सन्देशहरू पनि बन्द भएका छन्।

सन् २०२३ अगस्टदेखि जेलमा रहेका इमरान खान विभिन्न भ्रष्टाचारसम्बन्धी मुद्दामा दोषी ठहरिएका छन् तर खानले ती सबै मुद्दा राजनीतिक प्रतिशोधबाट प्रेरित भएको दाबी गर्दै आएका छन्।

सरकार र सेनाले भने उनलाई एकान्तवासमा राखिएको भन्ने आरोप अस्वीकार गरेका छन्। आन्तरिक मामिला राज्यमन्त्री तलाल चौधरीले खानलाई पाकिस्तानकै सबैभन्दा सुविधा सम्पन्न कैदी भन्दै उनको कोठामा जिम उपकरण र निजी भान्से समेत रहेको दाबी गरेका छन्।

खानको एक्समा उनको भनाइ उद्धृत गर्दै सेनाप्रमुख आसिम मुनीरलाई मानसिक रूपमा अस्थिर व्यक्ति भनेको पोस्ट सार्वजनिक भएपछि सेनाका प्रवक्ताले दुई घण्टा लामो पत्रकार सम्मेलन गरे जुन पाकिस्तानभरका सञ्चारमाध्यममा प्रत्यक्ष प्रसारण भयो। सो अवसरमा उनले खान राजनीति भन्दा बाहिर गइसकेको दाबी गर्दै उनलाई राष्ट्रिय सुरक्षाका लागि खतराको रूपमा चित्रित गरे।

एटलान्टिक काउन्सिलका दक्षिण एसिया मामिलाका वरिष्ठ फेलो माइकल कुगेलम्यान भन्छन्,“अहिले सेनाले यति धेरै तहमा देशको नेतृत्व गरिरहेको छ कि पाकिस्तान अधिनायकवादी शासनतर्फ निकै नजिक पुगेको देखिन्छ।”
उनले थपे,“नागरिक शासनको कुनै पनि अवधिमा यो स्तरको दमन अहिलेसम्मकै सबैभन्दा खराब हो।”

पाकिस्तानको सेना जसलाई प्रायः “एस्टाब्लिसमेन्ट” भनिन्छ लामो समयदेखि देशको राजनीतिमा प्रभावशाली भूमिका खेल्दै आएको छ। यसमा सैन्य तानाशाहीका कालखण्डहरू समेत समावेश छन्।

सुरुमा खान र सेना नजिक देखिन्थे। धेरैको विश्वास छ कि सेनाको समर्थनले नै खान सत्तामा पुगेका थिए। त्यसबेला विपक्षी दलहरूले खान सेनाको प्रभावमा शासन गरिरहेको आरोप लगाएका थिए। यद्यपि खानको पार्टीले यो आरोप अस्वीकार गरेको थियो।

तर सन् २०२२ मा अविश्वास प्रस्तावमार्फत पदबाट हटाइँदासम्म आइपुग्दा खानको सेनाको नेतृत्वसँग सम्बन्ध बिग्रिसकेको थियो। उनले आफू सत्ताच्युत हुनुको जिम्मेवारी पनि सेनालाई नै दिएको थियो।