ललितपुर, माघ १६ :

 नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफ्नो पार्टी कुनै पनि राजनीतिक जोखिममा नरहेको बताएका छन्। पार्टी कार्यालय च्यासलमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले पछिल्लो समय सामाजिक सञ्जालको प्रभाव बढे पनि एमालेको आधार कमजोर नबनेको दाबी गरे।

महासचिव पोखरेलले बालेन्द्र शाह (बालेन) को लोकप्रियताका कारण सामाजिक सञ्जालमा उनको पक्षमा उभिनेहरूको संख्या बढेको स्वीकार गरे पनि त्यसले एमालेको राजनीतिक हैसियतमा असर नपरेको बताए। उनले एमालेको प्रतिस्पर्धी हाल नेपाली कांग्रेस मात्रै रहेको उल्लेख गरे।

उनका अनुसार पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रभाव सहरी क्षेत्रभन्दा ग्रामीण क्षेत्रमा बढी देखिएको छ। रास्वपा ग्रामीण क्षेत्रमा सक्रिय बन्दै गएकाले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत उसले केही मत प्राप्त गर्न सक्ने सम्भावना रहेको उनले बताए। तर सहरी क्षेत्रमा भने रास्वपाको मत घट्दै गएको पोखरेलको भनाइ थियो।

महासचिव पोखरेलले समग्र राजनीतिक परिदृश्यलाई मूल्यांकन गर्दा एमाले सुदृढ अवस्थामा रहेको दाबी गर्दै आगामी दिनमा पार्टी थप सशक्त हुने विश्वास व्यक्त गरे।