ललितपुर, माघ १६ :

ललितपुरको गोदावरी नगरपालिका–७ देउरीका ३० वर्षीय विनोद तमाङले श्रीमतीको हत्या गरी प्रहरी कार्यालयमा पुगेर आत्मसमर्पण गरेका छन् । 

घरायसी झगडाका क्रममा तमाङले २३ वर्षीया श्रीमती कोपिला नेपालीको चिर्पटले हानेर हत्या गरेका थिए । तामाङ शुक्रबार बिहानै गल्ती भयो भन्दै प्रहरी चौकी पुगेर आत्मसमर्पण गरेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रले बताए ।

उनले हत्यापछि श्रीमती कोपिलाको शवलाई खाटमा सुताएर गएका थिए । मृतकको शरीरको टाउकोसहित विभिन्न भागमा चोट लागेको देखिन्थ्यो । विनोदविरुद्ध कर्तव्य ज्यान मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।