काठमाडौं, माघ १८ :

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद् पुन:स्थापनको मुद्दाबारे अविलम्ब फैसला गर्न माग गरेका छन्। एमाले ओखलढुंगा काठमाडौं सम्पर्क मञ्चले काठमाडौंमा आयोजना गरेको चुनावी भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले संवैधानिक सङ्कटमा देश फसेको बेलामा मौन बस्दा अदालतको औचित्यमाथि नै प्रश्न उठ्ने भन्दै संसद् पुन:स्थापनको मुद्दाबारे अविलम्ब फैसला गर्न माग गरेका छन् । 

आफूहरुले संसद् विघटन गरेर संविधान मिचिएको भनिरहेको अवस्थामा सर्वोच्च अदालत चुपचाप लागेर कानमा तेल हालेर बस्न नमिल्ने उनले बताए। उहाले संसद् पुनस्र्थापनाको मुद्दाबारे अदालतले जस्तो आदेश गरेपनि त्यसलाई स्वीकार गरिने स्पष्ट पार्नुभयो ।

त्यस्तै अध्यक्ष ओलीले सरकार तटस्थ रहेर भयरहित वातावरणमा, शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउनुपर्ने बताए । कसैलाई जिताउने वा हराउने खेलमा सरकार लागे त्यस्तो निर्वाचन र परिणाम स्वीकार्य नहुने उनले स्पष्ट पाए ।

उनले सरकारले जे गर्दा पनि हुन्छ भन्ने सोच्यो भने त्यो देश र सरकारकै लागि पनि अनिष्ट हुने चेतावनी दिए । फागुन २१ गते निर्वाचनको मिति तय गरिएपनि हिमाली भेगमा निर्वाचन गराउन कठिन रहेको उनले बताए । फरक प्रसंगमा अध्यक्ष ओलीले झापा–५ मा आफूसँग प्रतिष्पर्धा गर्ने भनेर लागेकाहरुसंग कुनै सङ्गठन, नीति कार्यक्रम, उद्देश्य केही नभएको तर्क गरे ।

आफ्ना प्रतिष्पर्धीलाई बतासे अन्डाको संज्ञा दिदै ओलीले बतासे अन्डाबाट चल्ला ननिस्कने टिप्पणी गरे। उनले देश बनाउने शक्ति एमालेमात्रै रहेको र यसपटकको निर्वाचनमा जनताले आफूहरुलाई सफल बनाउने जिकिर गरे ।