
काठमाडौं, माघ १९ :
त्रिभुवन विमानस्थलको भन्सार कार्यालयको वैदेशिक हुलाक शाखामा कार्यरत तीन जना कर्मचारी घुससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आइतबार गोश्वारा हुलाक कार्यालय, डिल्लीबजारबाट उनीहरूलाई रंगेहात पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा भन्सार अधिकृत इन्द्र न्यौपाने, कार्यालय सहयोगी गणेशप्रसाद पुडासैनी तथा हुलाक भन्सार पार्सल (निकासी) शाखामा कार्यरत नायब सुब्बा छविप्रसाद रिजाल रहेका छन्।
अख्तियारका अनुसार उनीहरुको साथबाट २३ थान मोबाइल, घुसबापत लिएको नगद र केही विदेशी मुद्रा फेला पारिएको छ । कुरियर कम्पनीमार्फत विदेश पठाइने सामानको भन्सार प्रक्रिया सहज गरिदिने बहानामा सेवाग्राहीसँग घुस माग्ने गरेको सूचना पाएपछि अख्तियारले छापा मारेको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।