
निर्वाचन आयोगले काठमाडौं महानगरपालिकालाई स्पष्टीकरण सोधेको छ ।
निर्वाचन आचारसंहिता लागु भइसकेको अवस्थामा महानगरपालिकाले वृद्धवृद्धा नागरिकलाई घर घरमा गई आधारभूत स्वास्थ्य सेवा प्रदान गर्न सुरु गरेको भन्ने विषयमा आयोगले महानगरपालिकालाई पत्र लेखेको हो ।
कार्यबाहक नगरप्रमुख सुनीता डंगोलले सुरु गरेको भनिएको कार्यक्रम वार्षिक बजेट तथा कार्यक्रममा परेको कार्यक्रम हो वा होइन ? भनेर आयोगले महानगरपालिकालाई जवाफ सहित दुई दिनभित्र कागजात पेस गर्न भनेको छ ।
निर्वाचन आचारसंहिता २०८२ को दफा ५ को खण्ड (क) को उपखण्ड (ग) मा ‘वार्षिक बजेट तथा कार्यक्रममा स्वीकृत भए बाहेकका अन्य कार्यक्रम गर्न वा नयाँ नीति, योजना वा कार्यक्रम घोषणा गर्न बाधा पर्ने छैन’ भन्ने व्यवस्था छ । मतदातालाई प्रभावित पार्ने उदेश्यले यस्ता कार्यक्रम गरिएको भन्दै आयोगमा उजुरी परेको थियो ।