
प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत काठमाडौ क्षेत्र नम्बर ३ मा हुने चुनाव पनि विगतमा जस्तै रोचक हुने देखिन्छ । ३२ हजार ९ सय २३ महिला र ३१ हजार ५ सय ५६ पुरुष गरी जम्मा ६४हजार ४ सय ७९जना (काठमाडौँको सबैभन्दा धेरै) मतदाता रहेको यस क्षेत्रमा २९ वटा मतादान स्थल छन् भने ७२ वटा मदतान केन्द्रहरु रहेका छन् ।आगामी फागुन २१ का लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आयोगले यस क्षेत्रमा उमेदवारको अन्तिम नामावलीमा २२ जनाको नाम जारी गरेको छ ।
जसमा नेकपा एमालेको सूर्य चिह्नबाट रामेश्वर फुयाल, नेपाली काँग्रेसको रुख चिह्नबाट रमेश अर्याल, नेपाली कम्युनिष्ट पार्टीको पाँचकुने तारा चिह्नबाट निरज लामा, रास्वपाको घण्टी चिह्नबाट राजुनाथ पाण्डे र उज्यालो नेपाल पार्टीको बलिरहेको बिजुलीको चिमबाट कुलमान घिसिङ प्रमुख प्रतिस्पर्धामा देखिन्छन् ।
राप्रपाले हलो चिह्नका साथ सुन्दर राम बोहरा, जनता समाजवादी पार्टी, नेपालले ढल्केको छाता चिह्नबाट प्रनिल ध्वज कार्की र नेपाल किसान मजदुर पार्टीले मादल चिह्नसहित मदन श्रेष्ठलाई अघि सार्दा प्रगतिशील लोकतान्त्रिक पार्टीका खुलेको एकल आँखा चिह्नका साथमा शेखर अर्याल, मंगोल नेशनल अर्गनाइजेसनको कुखुराको भाले चिह्नबाट कुल बहादुर लामा र नेपाल कम्युनिष्ट पार्टी(सयुंक्त) बाट हँसिया चिह्न बोकेर बाबु काजी कार्कीको उमेदवारी रहेको छ ।
यसैगरी नेशनल रिपब्लिक नेपालको उडीरहेको मौरी चिह्नको साथमा प्रेम छिरी शेर्पा, श्रम संस्कृति पार्टीको अञ्जुलीमा रहेको माटो चिह्नबाट सुवाश घिसिङ, मितेरी पार्टी नेपालको घोडा चिह्नबाट जित बहादुर तामाङ, नेपाल कम्युनिस्ट पार्टी(माओवादी) को गोलो घेराभित्र रहेको गुलाफको फूल चिह्नबाट शेखरनाथ आचार्य एवम् आम जनता पार्टी(एकल चुनाव चिह्न) को मोबाइल चिह्नबाट रुप सागर देवी मैदानमा होमिएका छन् ।
यहाँ ६ जनाको स्वतन्त्र उमेदवारी रहेको आयोगले जनाएको छ । जसमा आँखीझ्याल चिह्नबाट प्रदिप काफ्ले, क्याम चिह्नबाट रामकृष्ण पराजुली, चेसगोटी चिह्नबाट केशव नेपाल, बदेल चिह्नबाट सज्जन आचार्य, भँगेरा चिह्नबाट श्रीकृष्ण वराल र नरिवल चिह्नबाट सुरेश कुमार ढुङ्गाना रहेका छन् ।
यसो त काठमाडौँ क्षेत्र नम्बर २ मा काँग्रेस र एमालेले पालैपालो बहुमत ल्याउँदै आएको पाइन्छ । यस अघि २०७९ को निर्वाचनमा नेपाली काङ्ग्रेसका सन्तोष चालिसेले १५ हजार १ सय ५८ विजय हाँसिल गरेका थिए भने उनका निकटतम प्रतिस्पर्धी एमालेका कृष्ण बहादुर राईले ११ हजार १ सय ९६ मत प्राप्त गरेका थिए ।
यसपालिको निर्वाचनमा रास्वपाबाट राजुनाथ पाण्डे, उनेपाका कुलमान घिसिङ जस्ता बलियो मानिने उमेदवारहरुले नयाँ ईतिहास बनाउँछन् या पुरानै दलले आफ्नो अस्तित्व कायम राख्छन् भन्ने विषयले यश क्षेत्रको निर्वाचन थप रोमाञ्चक बन्ने देखिन्छ ।