काठमाडौं, माघ २२ :

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनमा आफूले गोली चलाउन आदेश नदिएको पनु: दोहोर्‍याएर भनेका छन्। 

बिहीबार काठमाडौँ-झापा सम्पर्क समितिले आयोजना गरेको भेटघाट कार्यक्रममा अध्यक्ष ओलीले प्रधानमन्त्रीले गोली चलाउने आदेश दिन नसक्ने भन्दै ओलीले यस्तो आरोप लगाउनेहरूलाई ‘अपराधी’को संज्ञा दिए।

जेनजीका नाममा विध्वंश मच्चाउनेहरूले नै आफूलाई झुटा आरोप लगाइरहेको उनको भनाइ थियो। उनले राष्ट्रघाती तत्वहरूले अराजकता सिर्जना गरेर आफूमाथि अनेक आरोप लगाउने गरेको बताएका छन्।

गत भदौ २३ र २४ गतेको घटना केही तत्वले उपद्रव मच्चाएको जिकिर गरे। पहिलेदेखि नै यस्तो सम्भावनाबारे सचेत रहेको तर पूर्ण रूपमा रोक्न नसकेको बताए।

उनले आगो लगाउने तथा मार्नेहरूले उल्टै आफूमाथि हत्यारा, षड्यन्त्रकारी तथा घृणित आरोप लगाएर देशलाई बद्नाम गर्ने काम गरेको उनको भनाइ थियो।

‘आगो लगाउनेर गोली चलाउन बाध्य पार्नेहरूले हाम्रा विरुद्ध, षड्यन्त्रका पोकाहरूले त्यस्ता घृणित लाञ्छना लगाएर, झुटा आरोप लगाएर देश दुनियाँमा बद्नाम गर्ने काम गरेका छन्,’ उनले भने।