काठमाडौं, माघ २२ :

काठमाडौं क्षेत्र नं. ३ का रास्वपाका उम्मेदवार राजुनाथ पाण्डे यतिबेला मतदाताको घरदैलो अभियानमा सक्रिय छन्। स्थानीय मतदाताका घर–घरमा पुगेर उनीहरूका समस्या, गुनासा र अपेक्षा सुन्दै पाण्डेले समाधानका लागि तत्पर रहने प्रतिबद्धता जनाएका छन्। 

उनले मुलुक परिवर्तनको दिशामा अगाडि बढिरहेको उल्लेख गर्दै परिवर्तनलाई संस्थागत गर्न आफूलाई मत दिन मतदातासँग आग्रह गरे । पाण्डेले युवापुस्ताको प्रतिनिधित्व गर्दै पुराना राजनीतिक दलबाट असन्तुष्ट मतदातामाझ पुगेर देशलाई नयाँ दिशा दिन नयाँ नेतृत्वको आवश्यकता रहेको मतदातालाई बताएका छन्।

घरदैलो अभियानका क्रममा केही मतदाताले भने पाण्डेलाई जितको अग्रिम शुभकामना  समेत दिए।  देशको अवस्था बिग्रँदै गएको देखेपछि त्यसलाई सुधार गर्ने उद्देश्यले जागिर छाडेर जोखिम मोलेर निर्वाचनमा होमिएको उनी बताउँछन्।

‘म एउटा सामान्य सुरक्षाकर्मी थिएँ। जब देशको अवस्था झन् बिग्रँदै गयो, त्यसलाई सुधार गर्न जोखिम लिनुपर्ने अवस्था आयो,’ पाण्डेले भने, ‘मैदानबाट भाग्नु भन्दा परिस्थितिको सामना गर्न तयार भएँ। ’

लामो समयदेखि जनतालाई भ्रममा राख्दै आएका पुराना र स्थापित भनिएका राजनीतिक दलहरूको अब जनताले मूल्यांकन गर्ने बेला आएको पाण्डेको भनाइ छ।