काठमाडौं, माघ २३ :

राष्ट्रिय सभाका नेपाली कांग्रेसका सांसद आनन्दप्रसाद ढुंगानाले सर्वोच्च अदालतले संसद् पुनःस्थापना सम्बन्धी मुद्दाको फैसलामा ढिलाइ गरेकोमा असन्तुष्टि व्यक्त गरेका छन्।

अदालतमा विचाराधीन रहेको रिट निवेदनको सुनुवाइ नगरेको भन्दै सांसद ढुंगानाले शुक्रबारको राष्ट्रिय सभा बैंठकमा आपत्ति जनाएका हुन्। सांसद ढुंगानाले भने, ‘सर्वोच्च अदालतका न्यायाधीशहरु यति धेरै निरीह भएको आफूले यसअघि कहिल्यै देखेको थिइन ।’

जेनजी आन्दोलनपछि प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा भएको प्रतिनिधिसभा विघटनविरुद्ध झण्डै डेढ दर्जन रिट निवेदन दर्ता भए पनि सुनुवाइ हुन सकेको छैन।

उनले पञ्चायतकालको न्याय व्यवस्था सम्झाउँदै त्यतिबेला पनि न्यायाधीशहरुले मुद्दाको किनारा लगाउने कामलाई प्राथमिकता दिने गरेको दृष्टान्त पेस गर्दै अहिले त्यो अवस्था नहुनु चिन्ताको विषय भएको बताए।