त्रिपुरेश्वरस्थित विश्वनिकेतन माध्यमिक विद्यालयले आफ्नो ८०औँ वार्षिकोत्सव भव्य रूपमा मनाएको छ ।
वार्षिकोत्सवको अवसरमा विद्यालयले हालै विविध कार्यक्रमहरूको आयोजना गरेको थियो।
कार्यक्रममा उत्कृष्ट शिक्षक, कर्मचारी तथा विभिन्न प्रतियोगितामा विजयी विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो। सो अवसरमा काठमाडौं महानगरपालिका वडा नं. ११ का वडाध्यक्ष हिरालाल तण्डुकारले सीमित स्रोत साधनका बाबजुद विद्यालयले उत्कृष्ट शिक्षा प्रदान गर्न सफल भएकोमा धन्यवाद व्यक्त गरे। साथै विश्व निकेतनलाई अझ धेरै विद्यार्थीको आकर्षणको केन्द्र बनाउन सबैको सहयोग आवश्यक रहेको उनले बताए।
विद्यालयका प्रधानाध्यापक हेरम्बराज कडेलले शिक्षक, कर्मचारी तथा विद्यालय व्यवस्थापन समितिको निरन्तर सहयोगका कारण विद्यालय आजको अवस्थामा आइपुगेको उल्लेख गरेका थिए।
विद्यालयका सूचना अधिकारी श्री डिल्ली राम पौडेलका अनुसार विद्यालयमा नर्सरीदेखि कक्षा १२ सम्म करिब ४५०० विद्यार्थी अध्ययनरत छन्। गत वर्ष कक्षा १० मा ६ जना विद्यार्थीले ४.० जीपीए प्राप्त गर्दै विद्यालयले ९८ प्रतिशत उत्तीर्णता हासिल गरेको थियो भने कक्षा १२ मा पनि ९२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको उनले जानकारी दिए।
कार्यक्रममा काठमाडौं महानगरपालिका भित्रका विभिन्न विद्यालयका प्रधानाध्यापकहरू, विद्यालयका पूर्व प्रधानाध्यापकहरू, विद्यालय व्यवस्थापन समितिका वर्तमान तथा पूर्व पदाधिकारीहरू, शिक्षक–अभिभावक संघका सदस्यहरू, शिक्षक, कर्मचारी, विद्यार्थी तथा पूर्व विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।