
वीरगन्जको आदर्शनगरमा रहेको एक गोदाममा सशस्त्र प्रहरी बल नेपाल र वीरगन्ज भन्सार कार्यालयको संयुक्त टोलीले छापा हान्ने क्रममा
व्यापारी र सुरक्षाकर्मीबीच झडप भएको छ ।
राजस्व छलीको सूचनापछि छापा हान्दा पुगेका सुरक्षाकर्मीमाथि आक्रमण भएको थियो । ढुङ्गा प्रहारका कारण सशस्त्र प्रहरीले प्रयोग गरेको गाडीको अगाडिको सिसा फुट्नुका साथै तीनजना सशस्त्र प्रहरी कर्मचारी सामान्य घाइते भएका छन् । टोली विशेष सूचनाका आधारमा आदर्शनगरमा प्रमोद कुमार कानुले सञ्चालन गरेको ‘बबिता इन्टरप्राइजेज’ को गोदाममा पुगेको थियो ।
व्यापारीहरूले आफूहरूसँग सामानको स्पष्ट बिलबिजक रहेको दाबी गर्दै विनाकारण दु:ख दिइएको आरोप लगाएका छन् । संयुक्त टोलीबाट भएको खानतलासीको स्थानीय व्यापारीहरूले कडा विरोध जनाएका छन् । अहिले त्यहाँ तनावको स्थिति सिर्जना भएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ ।