
पूर्व- पश्चिम राजमार्ग अन्तर्गत कोशी ब्यारेजको पुलमा आइतबार साँझबाट यातायात सुचारु गरिएको छ ।
कोशी नदीमा पानीको प्रवाह घटेपछि यातायात र पैदलयात्रीलाई आउजाउ गर्न दिने निर्णय गरिएको सप्तरीका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मग्रातीले जानकारी दिनुभयो ।
कोशी पुलमा बाढी आएर थुपारिएको लेदो, प्लास्टिकजन्य पदार्थ, दाउरा सहितका फोहर सफा गरिएकाले यातायात सुचारु गर्न सहज भएको उहाँले बताउनुभयो ।
कोसीमा पानीको प्रवाह अत्यधिक भएर पुल माथिबाटै बग्न थालेपछी शनिबार दिउँसो ४ बजेबाट सो पुल भएर आउजाउमा रोक लगाइएको थियो ।
आइतबार बिहानबाट कोसीमा पानीको बहाव निरन्तर कम हुँदै गएपछि आइतबार साँझबाट सर्वसाधारणका लागि आवतजावत खुला गरिएको प्रजिअ मग्रातीले बताउनुभयो ।
कोशीको पुलमा बाढीले थुपारेको फोहर सफा गर्न आठ घण्टा लागेको थियो । सुरक्षाकर्मी, स्थानीय बासिन्दा र डोजर प्रयोग गरी पुलको फोहर हटाएर कोशीमै फालिएको छ ।
कोशी नदीमा पानीको बहाव घट्ने क्रममा छ । कोशी ब्यारेज नियन्त्रण कक्षले दिएको जानकारी अनुसार आइतबार साँझ ७ः ३० बजे पानीको प्रवाह घटेर तीन लाख ४५ हजार चार सय १५ क्युसेकमा झरेको छ ।
पूर्वी- पहाडी तथा मधेससहित तराईका जिल्लामा दुई दिनदेखि परेको लगातार वर्षाका कारण शनिबार ५६ वर्षकै इतिहासमा सबैभन्दा बढी कोशी नदीमा छ लाख ६१ हजार क्युसेक पानीको प्रवाह पुगेको थियो ।