
कागेश्वरी मनोहरा नगरपालिका–३ मा दर्ता नवीकरण नगरी सञ्चालन भइरहेका किराना पसल, डेरी तथा होटलहरूमा म्याद गुज्रिएका र सडेगलेका खाद्य सामग्री बिक्री भइरहेको पाइएको छ। नगरपालिकाको नियमित अनुगमन टोलीले बुधबार गरेको छड्के अनुगमनका क्रममा यस्तो अवस्था फेला परेको हो।
अनुगमनका क्रममा डेढ दर्जनभन्दा बढी किराना पसल, डेरी, मासु पसल तथा होटलहरूको निरीक्षण गरिएको थियो। निरीक्षणका क्रममा सेर्जल खाजा घर, आर एण्ड एस मिट सप, पुडासैनी खाद्य स्टोर र लक्ष्मी खाजा घरलगायतका पसलमा फोहोर तथा सडेगलेका खाद्य सामग्री बिक्री भइरहेको र दर्ता तथा नवीकरण नभएको पाइएको नगरपालिकाले जनाएको छ। केही पसल नामै नराखी तथा दर्ता नगरी सञ्चालन गरिएको समेत भेटिएको छ।
नगरपालिकाले ती व्यवसायीहरूलाई तीन दिनभित्र दर्ता तथा नवीकरण प्रक्रिया पूरा गर्न र मापदण्डअनुसार स्वस्थ वातावरणमा व्यापार सञ्चालन गर्न निर्देशन दिएको छ। अनुगमन टोलीले ती पसलहरूबाट म्याद गुज्रिएका खाद्य सामग्री बरामद गरी नष्ट गरेको जनाएको छ।
यसैबीच, ‘खाँडादेवी वेभरेज प्रा.लि.’ नामबाट सञ्चालित पानी उद्योगमा समेत पुराना तथा पानी भण्डारणका लागि अयोग्य जार प्रयोग गरी बिक्री वितरण भइरहेको पाइएको छ। अनुगमन टोलीले त्यस्ता जारहरू डिस्पोज गरी पुनः यस्तो कार्य नगर्न निर्देशन दिएको छ।
अनुगमनका क्रममा केही व्यवसायीहरूले किराना पसलका नाममा दर्ता गरी फलफूल, तरकारी, दुग्धजन्य पदार्थ तथा ग्याससमेत बिक्री गरिरहेको भेटिएको छ भने केही होटलहरू अस्वस्थ तथा फोहोर अवस्थामा सञ्चालन भइरहेको पाइएको छ।
अनुगमन टोलीका अनुसार अस्वस्थ र लापरबाहीपूर्ण ढंगले खाद्य सामग्री बिक्री गर्दा उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने भएकाले आगामी दिनमा अनुगमनलाई थप कडाइका साथ निरन्तरता दिइनेछ। नगरपालिकाले यस्ता गतिविधि पुनः दोहोरिए कडा कारबाही गरिने चेतावनी दिएको छ।