काठमाडौं, माघ २९ :

कागेश्वरी मनोहरा नगरपालिकाका वडा नम्बर १ र २ मा सञ्चालनमा रहेका अधिकांश होटल, डेरी, मासु पसल तथा किराना पसलहरू दर्ता तथा नवीकरण नगरी मापदण्डविपरीत सञ्चालन भइरहेको पाइएको छ।

नगरपालिकाको बजार अनुगमन शाखा र नेपाल सरकारको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त टोलीले बिहीबार गरेको अनुगमनका क्रममा धेरै व्यवसायहरू नियमविपरीत सञ्चालन भएको भेटिएको हो।

अनुगमनका क्रममा केही दुग्ध व्यवसायीहरूले पाउडर मिसाइएको दूध बिक्री गरिरहेको पाइएको छ। त्यस्तै, अधिकांश होटलहरू फोहोर अवस्थामा सञ्चालन भइरहेको, मासु पसलहरूमा सरसफाइको अभावका कारण झिँगा भन्किरहेको तथा सडेगलेका मासु बिक्री भइरहेको भेटिएको छ। किराना पसलहरूमा पनि म्याद गुज्रिएका र सडेगलेका खाद्य सामग्री बिक्री भइरहेको पाइएको अनुगमन टोलीले जनाएको छ।

अनुगमनका क्रममा म्याद सकिएका तथा सडेगलेका खाद्य सामग्रीहरू बरामद गरी नष्ट गरिएको छ। साथै, सम्बन्धित व्यवसायीहरूलाई दर्ता, नवीकरण र सरसफाइ सुधारका लागि ३ देखि ७ दिनभित्र आवश्यक प्रक्रिया पूरा गर्न निर्देशन दिइएको छ।

जनप्रतिनिधिहरूले मापदण्डअनुसार व्यवसाय सञ्चालन गर्न र सचेत नागरिकको भूमिका निर्वाह गर्न आग्रह गर्दै आवश्यक सहयोग र समन्वयका लागि नगरपालिका सधैँ तत्पर रहेको बताएका छन्।

उपभोक्ताको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै माघ महिनाको पहिलो हप्तादेखि बजार अनुगमन सुरु गरेको हो। पहिलो चरणमा कमीकमजोरी भेटिएका व्यवसायीहरूलाई सचेतना र आवश्यक निर्देशन दिइएको छ।

 दोस्रो चरणमा पनि लापरबाही दोहोरिए कडा कारबाही गरिने बजार अनुगमन शाखाले चेतावनी दिएको छ। उपभोक्ता तथा आम नागरिकको स्वास्थ्य पहिलो प्राथमिकतामा पर्ने विषय भएकाले यसमा कुनै किसिमको लापरबाही सह्य नहुने नगरपालिकाले जनाएको छ।