
राष्ट्रियसभाको १९औँ अधिवेशन अन्त्य भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ९३ को उपधारा (३) बमोजिम मन्त्रिपरिषद्को माघ २६ गतेको सिफारिसबमोजिम आज राति १२ बजेदेखि लागू हुनेगरी चालु अधिवेशन अन्त्य गरेका हुन् । राष्ट्रियसभा अध्यक्ष दाहालले आजको बैठकमा राष्ट्रपतिबाट अधिवेशन अन्त्यसम्बन्धी प्राप्त पत्रको व्यहोरा जानकारी गराए ।
यसअघि आज बसेको राष्ट्रियसभा बैठकमा ‘मुस्लिम आयोगको आर्थिक वर्ष २०८०-०८१ को वार्षिक प्रतिवेदन पेस भएको छ । बैठकमा प्रधानमन्त्री एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री सुशीला कार्कीको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले उक्त प्रतिवेदन पेस गरे ।
बैठकमा विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले ‘सङ्घीय एकाइहरुबीच विधायिकी अन्तरसम्बन्ध अध्ययन प्रतिवेदन, २०८२’ र ‘बालबालिका सम्बन्धी ऐन, २०७५ मा रहेका बाल सहभागितासम्बन्धी प्रावधानहरुको कार्यान्वयन मापन प्रतिवेदन, २०८२’ पेस गरे।
बैठकको अध्यक्षता गरेकी राष्ट्रियसभा उपाध्यक्ष बिमला घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएकोसम्बन्धी पत्रको व्यहोरा जानकारी गराइन् ।