काठमाडौं, फागुन ४ :

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले  सूचना प्रविधि (आईटी) क्षेत्रमार्फत नेपालमा ठूलो आर्थिक सम्भावना सिर्जना गर्न सकिने बताएका छन्। सोमबार बिहान सामाजिक सञ्जालमार्फत एक भिडियो सन्देश सार्वजनिक गर्दै सभापति थापाले आईटी क्षेत्रको विकासका लागि आफूले अघि सारेको योजनाबारे प्रष्ट पारे। उनले आईटीमार्फत युवाहरूलाई स्वदेशमै उच्च आम्दानीको अवसर उपलब्ध गराउने आफ्नो दीर्घकालीन सोच रहेको उल्लेख गरे।

‘मैले केही समयअघि कीर्तिपुरको एउटा सभामा यही कीर्तिपुरको डाँडामा बसेर ल्यापटप चलाएर युवाहरूलाई महिनाको तीन–चार लाख रुपैयाँ कमाउने बनाउन सकिन्छ भनेको थिएँ,’ उनले भने, ‘त्यतिबेला त्यो कुरा हाँसोको विषय बन्यो, निकै ट्रोल पनि भयो। तर मैले हावादारी कुरा गरेको थिइनँ। त्यो कुनै उडन्ते सपना होइन, गर्न सकिन्छ भन्ने मेरो विश्वासको कुरा थियो।’

थापाले अहिले पनि आईटी क्षेत्रमार्फत ग्लोबल स्केलका अवसरहरू नेपालमा भित्र्याउने प्रतिबद्धता दोहोर्‍याएका छन्। उनका अनुसार नेपालमा सूचना प्रविधिको क्षेत्रमा केही प्रयासहरू भइरहेका भए पनि ती पर्याप्त छैनन्। यस क्षेत्रलाई व्यवस्थित, प्रतिस्पर्धी र अन्तर्राष्ट्रिय बजारसँग जोड्ने गरी नीतिगत तथा संरचनात्मक सुधार आवश्यक रहेको उनको भनाइ छ।