काठमाडौं, फागुन ४ :

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल र उम्मेदवारहरुले औपचारिक रुपमा प्रचार–प्रसार सुरु गरेका छन् । मतदान हुने दिनभन्दा १५ दिन अघिदेखि मात्र निर्वाचन प्रचारप्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न र सञ्चारमाध्यममा आफ्नो निर्वाचनसम्बन्धी सामग्री प्रकाशन वा प्रसारण गर्न सकिने व्यवस्था अनुसार राजनीतिक दल र उम्मेदवारहरुले औपचारिक रुपमा प्रचार–प्रसार सुरु गरेका हुन् । 

औपचारिक रुपमा प्रचार–प्रसार सुरु भएसंगै नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा, राप्रपा, रास्वपालगायतका दलहरुले निर्वाचनका लागि विभिन्न निर्वाचन क्षेत्रमा अभियान सुरु गरेका छन् भने स्वतन्त्र उम्मेदवारले पनि प्रचारप्रसार तीव्र पारेका छन् ।

सोमबारदेखि फागुन १८ गते राति १२ बजेसम्म राजनीतिक दल तथा उम्मेदवारहरूले निर्वाचन प्रचार–प्रसार गर्न सक्ने छन् । निर्वाचनको निष्ठालाई उच्च प्राथमिकतामा राखेर दल तथा उम्मेदवार एवं अन्य सरोकारवाला सबैले निर्वाचन आचारसंहिताको पूर्ण पालना गरी निर्वाचन प्रचार–प्रसार गर्न सक्ने निर्वाचन आयोगले जनाएको छ ।

यसैगरी चितवन क्षेत्र नं. ३ मा पनि चुनावी माहोल तातिएको छ ।  यसैक्रममा नेकपा उम्मेदवार रेनु दाहालले आफ्नो चुनावी अभियानलाई तीव्र पारेकी छन् ।

भरतपुर महानगरपालिकाकी निवर्तमान मेयरसमेत रहेकी दाहालले घरदैलो कार्यक्रममार्फत स्थानीयका गुनासा, समस्या र सुझावहरू संकलन गर्दै विकासका एजेन्डासहित मत मागिरहेकी छन् । भरतपुर वडा नं. २६ लहुरेचोकबाट घरदैलो सुरु गर्दै वडाका सबै टोल टोलपुगेर दाहालले आफू नयाँ अनुहार नभई काम गरेर देखाइसकेको व्यक्ति भएको भन्दै जनतासँग गरेको वाचा पूरा गरिछाड्ने बताइन् ।

कृषि, पर्यटन र शिक्षाका मुद्दालाई जोडेर चितवनको विकास गर्ने आफ्नो एजेन्डा रहेको भन्दै उहाले निकुञ्ज ऐनमा संशोधनगरी नयाँ ऐन ल्याउनुपर्ने उल्लेख गरिन् ।दाहालले स्थानीय पूर्वाधार विकास, कृषि आधुनिकीकरण, महिला सशक्तीकरण, युवा स्वरोजगार तथा उद्यमशीलता प्रवर्द्धनलाई आफ्नो प्राथमिकतामा राखिन् ।

चितवन– ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृ सोविता गौतम पनि चुनावी मैदानमा छिन्। सो क्षेत्रमा यसअघिको निर्वाचनमा राप्रपाका उम्मेदवार विक्रम पाण्डे विजयी भएका थिए।