जनकपुर, फागुन ५ :

नेपाली कांग्रेसले भोलि मधेस प्रदेशबाट आफ्नो चुनावी ‘प्रतिज्ञापत्र’ सार्वजनिक गर्ने भएको छ। नेपाली कांग्रेस मधेश प्रदेश समितिको आयोजनामा भोलि जनकपुरधाममा आमसभा गर्दै आसन्न प्रतिनिधिसभा निर्वाचन लक्षित प्रतिज्ञा पत्र सार्वजनिक गर्ने कार्यक्रम रहेको छ।

सभामा पार्टीका सभापति गगन कुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा लगायत केन्द्रीय तहका प्रमुख नेताहरूले सम्बोधन गर्ने जनाइएको छ। आयोजकका अनुसार कार्यक्रममा करिब एक लाख सर्वसाधारण तथा पार्टी समर्थकहरूको उपस्थिति रहने अपेक्षा गरिएको छ।

कांग्रेसले मधेशलाई केवल चुनावी भूगोलका रूपमा नभई परिवर्तनको प्रारम्भ बिन्दुका रूपमा लिएको उल्लेख गर्दै प्रतिज्ञा पत्रमार्फत मधेसको समृद्धि, कृषि आधुनिकीकरण, उद्योग तथा व्यापार विस्तार, सीमावर्ती क्षेत्रको विकास, युवालाई रोजगारी, महिला सशक्तीकरण र सामाजिक न्याय सुनिश्चित गर्ने स्पष्ट कार्ययोजना सार्वजनिक गरिने जनाएको छ।

त्यसैगरी सुशासन, पारदर्शिता, भ्रष्टाचार नियन्त्रण, शिक्षा र स्वास्थ्य क्षेत्रमा गुणस्तरीय सेवा प्रवाह, संघीयताको प्रभावकारी कार्यान्वयन तथा प्रदेश र स्थानीय तह सुदृढीकरणका विषयलाई पनि प्राथमिकतामा राखिएको विज्ञप्तिमा उल्लेख छ। पार्टीले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा रुख चिन्हमा मतदान गर्न मतदातासमक्ष अपिल गरेको छ।

मधेश प्रदेश समितिका सभापति कृष्ण प्रसाद यादवद्वारा जारी विज्ञप्तिमा उक्त प्रतिज्ञा सभा ऐतिहासिक महत्वको कार्यक्रम भएको उल्लेख गर्दै लोकतन्त्रप्रेमी नागरिक तथा पार्टी कार्यकर्तालाई सभामा सहभागी भई कार्यक्रम सफल बनाउन आग्रह गरिएको छ।