
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले निर्वाचनपछि कुशासन र बेथितिको सटर सधैका लागि बन्द हुने बताएका छन् । बुधबार धनगढीमा आयोजित रास्वपाको सभालाई सम्बोधन गर्दै लामिछानेले जनताको अधिकार र मुद्दालाई वर्षौंसम्म अल्झाउने कामका साथै अन्य कुशासन र बेथितिको सटर सधैका लागि बन्द हुने बताए ।
उनले फागुन २१ गते भोट हाल्ने मात्रै नभइ इतिहास लेख्ने दिन भएको उल्लेख गरे । जनताको अधिकारलाई माग बनाएर हरेक चुनावमा घोषणापत्रमा मात्र अक्षरमा उल्लेख युगको अन्त्य अब रास्वपाले गर्ने भन्दै लामिछानेले जनताको माग र अधिकारलाई पूरा गरेरै छाड्ने प्रतिबद्धता जनाए ।
जनताले भोट दिने, जनतालाई नेताले वाचा गर्ने अनि सजाय पनि त्यही भोट दिने जनताले पाउने अवस्था अब नेपालमा नचल्ने उनले बताए। लामिछानेले देशको राजनीतिक आशा आकांक्षालाई केन्द्रमा राखेर रास्वपा आएकाले देशको परिवर्तनका लागि सहभागी हुन आह्वान गरे ।