काठमाडौं, फागुन ७ :

नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विभिन्न सहकारीको बचत रकम ठगी गर्दाको प्रमाण सार्वजनिक गरेका छन् । 

काठमाडौंमा बिहीबार आयोजित खुला प्रश्नोत्तर कार्यक्रममा ‘प्रमाण खोई’ भन्ने प्रश्नमा  पाँच जिल्लाका सहकारीको बचत रकम ठगी गर्दा प्रत्यक्ष संलग्नता पुष्टि हुने आधारसहितका अदालता कागजात र चेकहरूको विवरण सार्वजनिक गरेका हुन् ।

सहकारी ठगीमा रविको संलग्नताबारे प्रश्न आएपछि उनले त्यसबारे व्याख्यासहित प्रमाण सार्वजनिक गरिदिएका हुन् । उनले यो मेरो भनाइ होइन, सम्मानित सर्वोच्च अदालतको डिभिजन बेन्चको फैसला र विभिन्न जिल्ला अदालतमा पेसभएका तथ्यहरू हुन् भन्दै सबै पढेर सुनाए ।

सहकारीका सदस्य नै नरहेका लामिछानेको गोर्खा मिडिया नेट्वर्कमा छँदाको समयमा विभिन्न सहकारीहरूबाट गैरकानुनी रुपमा ल्याएको रकम आफैंले पटक पटक चेक काटेर खर्चेको पनि खुलाएका छन् ।

‘जिल्ला अदालत चितवनको रेकर्ड विवरढअनुसार रवि लामिछानेको नाममा सहारा सहकारी संस्थाबाट ११ करोड ७० लाख रुपैयाँ गोर्खा मिडियामा गएको देखिन्छ’, थापाले भने, ‘सहकारीबाट गएको रकम गोर्खा मिडियामा खर्च गर्ने क्रममा उहाँ आफैँले हस्ताक्षर गरेका ४१४ वटा चेक भेटिइसकेका छन् ।’

उता रूपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी संस्थाबाट पनि रविले गैरकानुनी रुपमा बिनाधितो २ करोड रुपैयाँ लगेको भेटिएको उनले बताए । गगनका अनुसार उक्त रकम रवि लामिछानेको व्यक्तिगत नाममा ऋणका रुपमा लिएको भेटिएको हो ।

थापाले लामिछाने गोर्खा मिडियाको प्रबन्ध निर्देशक हुनुअघि नै सञ्चालक समितिको बैठकमा सहभागी भई बैंक खाता खोल्ने निर्णयमा सही गरेर संलग्न रहेको पनि खुलाएका छन् ।

‘उहाँले निःशुल्क सेयर पाएको दाबी गर्नु भएको छ। तर उक्त सेयर लगानी गर्न सहकारीकै रकम प्रयोग भएको देखिएको छ,’ थापाले भने, ‘कम्पनीबाट अलग भएको भनिएको मितिपछि पनि सयौँ चेकमा उहाँले हस्ताक्षर गरेको भेटिएको छ।’ उनले रविको बारेमा सर्वोच्च अदालतको वेबसाइटमा यस प्रकरणका कागजपत्र सुरक्षित रहेको भन्दै फैसलाको बुँदा पढ्न पनि सुझाएका छन् ।