
नेकपाका नेता वर्षमान पुनले स्पष्ट विचार र दृष्टिकोणबिनाको लोकप्रियतावादी राजनीति मुलुकका लागि घातक हुन सक्ने बताएका छन्। रोल्पाको लिवाङमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा पुनले स्पष्ट विचार, दृष्टिकोण र गन्तव्यबिनाको राजनीतिले मुलुकलाई सही दिशा दिन नसक्ने दाबी गरे। कुन ठाउँमा के बोल्दा मानिसले मन पराउँछन् भन्ने आधारमा बोल्दै हिंड्नेहरुले देशको नेतृत्व लिन नसक्ने भनाइ उनको छ ।
बालेन्द्र साहप्रति लक्षित गर्दै पुनले काठमाडौंमा संघीयताको विरोध गर्ने र जनकपुर गएर संघीयता चाहिन्छ भन्नु दोहोरो चरित्र उदाङगो भएको बताए । काठमाडौंमा सुकुम्बासी, ठेलागाडामा व्यापार गर्नेहरु र कबाडीको काम गर्नेलाई खेद्ने अनि झापा पुगेपछि भोटका लागि सुकुम्बासीको पक्षमा छौं भन्नु राजनीतिक बेइमानी भएको उनको भनाइ थियो । पुनले भने, ‘जहाँ जसले जे सुन्न चाहेको छ त्यही बोल्ने ‘पपुलिष्ट’ राजनीति घातक छ ।’