रुपन्देही, फागुन १० :

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले निर्वाचनपछि नयाँ समझदारीका साथ मुलुकलाई अघि बढाउनुपर्ने बताएका छन् ।

रूपन्देही–१ का राप्रपा उम्मेदवार प्रज्वल बोहराको प्रचारप्रसारका लागि रुपन्देहीको धकधईमा आयोजित चुनावी सभामा बोल्दै अध्यक्ष लिङ्देनले ८४ को निर्वाचन ८२ मा गरेर मात्रै मुलुकको समस्या हल नहुने भन्दै निर्वाचनपछि सवैपक्षलाई मिलाएर नविनतम समझदारीका साथ देशलाई अघि बढाउनुपर्ने बताएका हुन्।

उनले निर्वाचन अघि नै  राजा, राजनीतिक दल र नव युवा पुस्ताकोबीच नविनतम सम्झौता हुनुपर्नेमा राप्रपाले जोड दिएपनि कसैले नसुनेको धारणा राखे । अध्यक्ष लिङ्देनले मुलुकमा राष्ट्रिय समझदारी कायम गर्नका लागि दबाब पुग्ने किसिमले मतदान गर्न आग्रह गरे ।

उम्मेदवारले घरदैलोमा आएर नमस्कार गर्ने दिन फागुन २१ सम्म भएकाले सोचेर मात्र आफ्नो मत सदुपयोग गर्न पनि उनले आग्रह गरे ।

अध्यक्ष लिङ्देनले निर्वाचनपछि बलियो शक्ति भएर नविनतम समझदारी दिने अवस्था सिर्जना गर्ने उल्लेख गरे। रुपन्देही–१ बाट राप्रपाका दिवंगत नेता दीपक बोहराका छोरा प्रज्वल चुनावी प्रतिस्पर्धामा रहेका छन् ।