इटहरी, फागुन १३ :

​प्रधान सेनापति अशोकराज सिग्देलले  निर्वाचन सुरक्षालाई त्रुटीरहित र प्रभावकारी बनाउन निर्देशन दिएका छन्। 

कोसी प्रदेशस्थित पूर्वी पृतना र मधेसस्थित मध्य पूर्वी पृतना हेडक्वाटर अन्तर्गतका युनिटहरूको निरीक्षणका  क्रममा प्रधानसेनापति सिग्देलले निर्वाचन सुरक्षालाई त्रुटीरहित ढंगबाट निर्वाह गर्न निर्देशन दिएका हुन् । भयरहित रूपमा  चुनाव सम्पन्न गर्नु सबैको राष्ट्रिय दायित्व भएको प्रधानसेनापति सिग्देलले बताए ।

केन्द्रीय सुरक्षा समितिबाट स्वीकृत निर्वाचन एकीकृत सुरक्षा कार्ययोजनाअनुसार निर्वाचनमा बाहिरी सुरक्षा घेराको जिम्मा सेनालाई दिइएको छ । मतदानपछि मतपेटिका मतगणना स्थलसम्म पुर्‍याउन पनि प्रहरी र सशस्त्रका अलवा सेना पनि खटिने गरी सुरक्षा योजना बनेको छ ।

मतदान स्थल सुरक्षामा बाहिरी घेरामा खटिएको सेनालाई निर्वाचनविरोधी गतिविधि भएका वा अप्रिय अवस्था निम्तिएमा २० मिनेट भित्र घटनास्थल पुग्ने गरी सेना तैनाथ भएका छन् ।

करिब ७१ हजार प्रहरी, करीब ३५ हजार सशस्त्र र १ लाख ४९ हजार निर्वाचन प्रहरी सुरक्षामा खटिएका छन् ।   फागुन २१ मा देशभर एकै चरणमा मतदान हुँदैछ ।