
नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी निर्वाचनले संविधानलाई सही ट्रयाकमा राख्ने बताएका छन्। सुर्खेतमा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै थापाले भदौ २३ र २४ गतेलाई बिर्सन नहुने उल्लेख गरे। उनले ती दिनहरू लोकतान्त्रिक आन्दोलन र राजनीतिक घटनाक्रमका दृष्टिले महत्वपूर्ण रहेको स्मरण गरे।
उनले देशमा अब राज्यको गोलीबाट कुनै निहत्था नागरिकले ज्यान गुमाउन नपर्ने अवस्था सुनिश्चित गर्नुपर्नेमा जोड दिए। साथै, कुनै पनि व्यक्तिले नकाब लगाएर सिंहदरबार जलाउने जस्ता अराजक गतिविधि गर्न नपाउने अवस्था सिर्जना गर्नुपर्ने उनको भनाइ थियो। थापाले लोकतन्त्र, संविधान र विधिको शासनको रक्षा गर्न आगामी निर्वाचन निर्णायक हुने धारणा व्यक्त गरे।
साथै सभापति थापाले अबको पाँच वर्ष स्वर्णिम काल बनाउने वाचा समेत गरे । परिवर्तनको वर्ष बनाउने सपना र योजना रहेको उनको भनाइ थियो। ‘सबै नागरिकले पेटभरी खान पाउनु, कसैले उपचार गर्दा एक रुपैयाँ तिर्न नपरोस्, कसैले पढ्दा एक रुपैयाँ तिर्नु नपरोस्, यही सपना हो,’ थापाले भने।