काठमाडौं, फागुन १४ :

निर्वाचन आयोगले बेलायतको प्रसारण कम्पनी बीबीसीले बिहीबार सार्वजनिक गरेको विवादित भिडियो सामग्री हटाउन प्रेस काउन्सिल नेपाललाई पत्राचार गरेको छ।

चुनावको मुखमा सार्वजनिक गरिएको उक्त भिडियो सामग्रीले समस्या ल्याउ सक्ने भन्दै आयोगले बिहीबार काउन्सिललाई पत्र लेखेर उक्त विवादित भिडियो सामग्री हटाउन पत्र लेखेको हो ।

आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बीबीसीको उक्त भिडियो सामग्री रोक्न आग्रहसहितको पत्र काउन्सिललाई पठाएका हुन्। बीबीसी विश्व सेवाले बिहीबार सार्वजनिक गरेको ४१ मिनेट लामो ‘शट लाइक इनमिज : इनसाइड नेपाल्स जेन-जी अपराइजिङ’ नामक डकुमेन्ट्रीमा गत भदौ २३ र २४ को दमनको चित्रण गरिएको छ।

बीबीसी वर्ल्ड सर्भिसको टोलीले भदौ २३ गतेको घटनाबारे विस्तृत अनुसन्धान गरेर सार्वजनिक गरेको उक्त भिडियोमा ‘पिटर १’ कल साइन प्रयोग गर्ने व्यक्तिले कर्फ्यू लागू भएको १० मिनेटपछि अनुमति मागेपछि  फिल्डमा रहेका अधिकारीहरूलाई ‘आवश्यक बल प्रयोग गर्न’ आदेश दिएको खुलेको छ।