
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका नेता–कार्यकर्ताहरूलाई सामाजिक सञ्जालमा मात्र अड्केर नबस्न आग्रह गरेका छन् ।
रूपन्देहीको बुटवलामा शुक्रबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले निर्वाचनको मिति नजिकिएको भन्दै नेता–कार्यकर्ताहरूलाई सामाजिक सञ्जालमा मात्र अड्केर नबस्न आग्रह गरेका हुन् ।
सभापति थापाले नेता–कार्यकर्ताहरूलाई चुनाव प्रचार–प्रसारका लागि घर–घर जान र रिसाएका नवयुवालाई पार्टीका बारेमा सम्झाउन पनि आग्रह गरे । उनले भने, ‘हिजोका तमाम सबै राम्रा कुराहरूलाई बोक्छु, हिजोका तमाम खराब कुरालाई छोड्छु भनेर एउटा नयाँ संकल्प गरेर आएको छ ।’
सभापति थापाले उत्तेजनाको राजनीतिमा धेरै नबहकिन पनि आग्रह गरे । आगामी पाँच वर्ष देश बनाउने स्पष्ट भिजनका साथ पार्टी अघि बढेको पनि बताए ।
उनले संविधान संशोधन गर्दै देशलाई अघि बढाउन सवैको साथ आवश्यक रहेकाले निषेधको राजनीति गर्ने मनोवृत्ति अन्त्य हुनुपर्नेमा जोड दिए ।
नयाँका नारामा बहकिदा यसअघि देशका महत्वपूर्ण समय खेर गएको भन्दै सभापति थापाले पुराना र नयाँको नारामा नभइ स्पष्ट भिजन भएका पार्टीलाई चयन गर्न समेत आग्रह गरे।
उनले अहिले देखिएका समस्याको पहिचान गर्दै कानुन संशोधन गर्नुपर्ने जरुरी रहेको बताए । सभापति थापाले कुनै एक व्यक्तिले मात्रै चमत्कार गर्न नसक्ने भएकाले पद्दतीमा सुधार गर्नुपर्ने धारणा राखे ।
अहिलेको अवस्थामा कांग्रेसलाई भोट नहाल्नुपर्ने एउटा पनि कारण नरहेकाले कसैलाई गाली नगरी मतदातालाई सम्झाउन उनले नेता तथा कार्यकर्तालाई निर्देशन समेत दिए ।