
निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको मतपरिणामको नजिता छिटो सार्वजनिक गर्नेगरी तयारी गरेको जनाएको छ ।
शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले मतदान सकिएपछि छिटो मतपेटिका संकलन गर्ने र मतदान भएकै दिन साँझबाट मतगणना सुरु गरिने जानकारी दिए ।
उनले मतदानको अघिल्लो दिन आवश्यक व्यवस्थापन गरेर राजनीतिक दलहरूसँग समन्वय गर्दै मतदान भएकै दिन साँझबाट मतगणना सुरु गर्ने आयोगको तयारी रहेको बताए। ।
मतपेटिका सङ्कलनको समय घटाउने, बेलुकीबाट मतगणना गर्ने र मतगणनाको छिटो छरितो बनाइने गरि तयारी गरिएको उनको भनाइ छ ।
प्रवक्ता भट्टराईले निर्वाचनको तयारीका लागि उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठक बसेर सीमा बन्द, मदिरा बेचबिखनमा रोक लगाएतका निर्णय भइसकेको जानकारी दिए ।
निर्वाचनका लागि देशभरिको सुरक्षा अवस्था सन्तोषजनक रहेको आयोगको निष्कर्ष रहेको उहाको भनाइ छ । निर्वाचन प्रयोजनका लागि उम्मेदवारहरुले खाता खोल्ने क्रमपनि जारी रहेको भन्दै प्रवक्ता भट्टराईले खाता नखोल्ने र जथाभावी खर्च गर्नेहरुका लािग आयोगले आवश्यक निर्णय गर्ने धारणा राखे ।
हालसम्म ११ दलले मात्र चूनावी प्रयोजनका लागि खाता खोलेको आयोगले जनाएको छ । आयोगले निर्वाचनका लागि मतपत्र, मतपेटिका तथा निर्वाचन सामग्री सबै जिल्लामा पु¥याइसकिएको जानकारी पनि दिएको छ ।