काठमाडौै, फागुन १७ :

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्र जोगाउने अभियानमा नागरिकको समर्थन माग्दै अपिल सार्वजनिक गरेका छन्। आइतबार भिडियोमार्फत अपिल सार्वजनिक गर्दै उनले राष्ट्र जोगाउने पक्षमा कि विपक्षमा भन्दै आम नागरिकलाई प्रश्न गरेका छन्।

चार दिनपछि हुन लागेको प्रतिनिधि सभाको निर्वाचनलक्षित अपिल गर्दै उनले  निर्वाचन देश जलाउने र बनाउनेबीचको प्रतिस्पर्धा भएको भन्दै मतदातालाई सचेत रहन आग्रह गरेका छन्।

जनेजी आन्दोलनको नाममा देशका प्रमुख संरचना सिंहदरबारसहित विभिन्न संरचना जलेको भन्दै यो निर्वाचन देश जलाउने र बचाउनेबीचको प्रतिष्पर्धा रहेको उनको भनाइ छ। ओलीले भनेका छन्, ‘यो निर्वाचन पार्टी-पार्टीबीचको होइन। यो निर्वाचन देश जलाउने र बनाउनेमध्ये को रोज्ने भन्नेबीच हो ।’

ओलीले रास्वपप्रति लक्षित गर्दै अब कहिल्यै सार्वजनिक सम्पत्ति नजल्ने ग्यारेन्टी चाहिएको बताएका छन्। ओलीले संविधान र सार्वजनिक सम्पत्तिको सुरक्षा ग्यारेन्टी गर्दै राष्ट्रिय स्वार्थलाई प्राथमिकतामा राख्न जोड दिएका छन्।